संविधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक बस्ने भएको छ।

मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन भएको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२’ को पहिलो बैठक आज अपराह्न ३ बजे सुरु हुने जानकारी प्रधानमन्त्री सचिवालयले दिएको छ।

कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि सदस्य रहेका छन्। नेपाली कांग्रेसतर्फ मोहन आचार्य, नेकपा (एमाले)का तर्फबाट संविधान सभा सदस्य डा. भीष्मनाथ अधिकारी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट संविधान सभा सदस्य एवं पूर्व कानुन मन्त्री देव प्रसाद गुरुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चातर्फ महासचिव मनोज भट्ट सदस्य छन्।

यसैबिच, नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले पठाउने प्रतिनिधिबारे आन्तरिक छलफल भइरहेको छ। ती दलहरूले आजै कार्यदल सदस्यको नाम टुङ्गो लगाउने अपेक्षा गरिएको छ।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगका सचिव इन्दिरा दाहाल पनि सदस्य रहेका छन्। कार्यदलको सदस्य सचिवमा कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी नियुक्त छन्।