
काठमाडौँ । कञ्चनपुर कारागारमा बुधबार दिउँसो कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्।
कारागार प्रशासनका अनुसार घाइतेमध्ये शुक्लाफाँटा नगरपालिका-७ का २३ वर्षीय चोरी मुद्दाका ओम प्रकाश घडेरी, शुक्लाफाँटा-११ का १९ वर्षीय लागु औषध मुद्दाका भुवन नाथ, सोही ठाउँका २६ वर्षीय भुवन ऐर, भीमदत्त नगरपालिका-७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका-८ का २६ वर्षीय जबरजस्ती करणी मुद्दाका राजु दमाइ रहेका छन्।
कारागारका सूचना अधिकारी जीवन पन्तले घाइतेहरूको शरीर र टाउकोमा चोट लागेको र उनीहरूलाई महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए।
जिल्ला प्रहरी कार्यालयले कैदीबन्दीबीच भएको झडपको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।