काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आगामी चैत २७ गते निर्वाचन हुने भएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त मिति घोषणा गरेका हुन् ।
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ८ को उपनियम (२०) अनुसार सभामुख अर्यालले निर्वाचनको मिति तय भएको हो । साथै, सभामुख अर्यालले निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई निर्देशन दिएका छन् ।
सङ्घीय संसद सचिवालयले निर्वाचनको विस्तृत कार्यतालिका आजै सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। नयाँ सरकार गठन र सभामुख चयनपछि रिक्त रहेको उपसभामुख पद पूर्तिका लागि प्रक्रिया अघि बढाइएको बताइएको छ । निर्धारित मितिमा हुने मतदानमार्फत प्रतिनिधि सभाले नयाँ उपसभामुख चयन गर्नेछ।