यातायात भाडा: विद्युतीय सवारीमा पुरानै दर कायम

दियोपोस्ट संवाददाता

काठमाडौं । सरकारले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडा दर वृद्धि गरेको छ। यातायात व्यवस्था विभागका अनुसार नयाँ भाडादर आजैदेखि लागू गरिएको हो।

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि तथा अन्य प्राविधिक सूचकका आधारमा भाडा समायोजन गरेको जनाएको छ। वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार यात्रुवाहक सवारीको भाडा करिब १६.७१ प्रतिशतले वृद्धि गरिएको छ भने मालवाहक सवारीतर्फ पहाडी क्षेत्रमा २१.६८ प्रतिशत र तराई क्षेत्रमा १५.७५ प्रतिशतसम्म भाडा बढाइएको छ।

यो नयाँ भाडादर दुई वा सोभन्दा बढी प्रदेश हुँदै सञ्चालन हुने राष्ट्रिय स्तरका रुटहरूमा लागू भएको विभागले जनाएको छ।

तर, भाडा वृद्धि सम्बन्धी निर्णयले विद्युतीय सवारी साधनलाई भने समेटेको छैन। विभागका अनुसार पेट्रोलियम पदार्थबाट चल्ने गाडीको भाडा वृद्धि भए पनि विद्युतीय गाडीले भने पुरानै भाडादर कायम राख्नुपर्नेछ।

सरकारले तोकेको नयाँ भाडा दर विद्युतीय सवारीमा लागू नहुने भएकाले ती सवारीले बढेको भाडा लिन नपाउने विभागले स्पष्ट पारेको छ ।

हाल अन्तरप्रदेश रुटमा काठमाडौंबाट धरान, विराटनगर, झापा लगायतका स्थानमा विद्युतीय सवारी सञ्चालन हुँदै आएका छन्। यसअघि भने कतिपय अवस्थामा यस्ता सवारीले पेट्रोलियम गाडीसँगै समान भाडा लिँदै आएका थिए।

यातायात व्यवसायीहरूले लामो समयदेखि इन्धन मूल्य वृद्धि अनुसार भाडा समायोजन गर्न दबाब दिँदै आएका थिए। सोही दबाब र अन्तर्राष्ट्रिय बजारमा बढेको इन्धन मूल्यका कारण सरकारले भाडा वृद्धि गर्ने निर्णय गरेको हो।

यस निर्णयसँगै यात्रुहरूमा खर्च वृद्धि हुने भए पनि विद्युतीय सवारी प्रयोगकर्ताका लागि भने तत्काल भाडा वृद्धि नहुने भएको छ, जसले भविष्यमा विद्युतीय सवारीतर्फ आकर्षण बढ्ने सम्भावना देखिएको छ।