काठमाडौँ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंह का अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको यात्रुबाहक बस राति अनियन्त्रित भई सडकबाट पल्टिएको थियो। दुर्घटना लगत्तै स्थानीयवासी र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको उनले जानकारी दिए।
घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ भने तीन जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई प्राथमिक उपचारपछि घर पठाइएको बताइएको प्रहरीले जानकारी दिए ।
प्रहरीका अनुसार बस तीव्र गतिका कारण अनियन्त्रित भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।