काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका-५, काठमाडौँका राजेन्द्र दुलाल विगत २५ वर्षदेखि घरबारविहीन भएका छन्। अन्तरजातीय विवाहका कारण परिवारबाट निकालिएका दुलाल न्यायको माग गर्दै धर्ना दिइरहेका छन्।
दुलालका अनुसार उनले कथित ‘तल्लो जात’ भनिने परियार समुदायकी महिलासँग विवाह गरेपछि परिवारले उनलाई घरबाट निकालिदिएको हो। पहिलो श्रीमतीको निधनपछि एक्लिएका उनले ती महिलालाई स्वीकार गरेका थिए । जसबाट उनकी एक छोरीसमेत छन्। तर, यही निर्णयका कारण उनलाई सम्पत्तिबाट वञ्चित गरिनुका साथै सामाजिक रूपमा पनि बहिष्कार गरिएको उनले बताए।
‘जात दुईवटा मात्र हुन्छन्न-र र नारी,’ भन्ने विचारसहित पञ्चायतकालदेखि नै सामाजिक विभेदविरुद्ध संघर्ष गर्दै आएको दुलाल बताउँछन्।
उनले २०७३ सालमा उच्च अदालत पाटनमा सम्पत्ति विवादसम्बन्धी मुद्दा दायर गरेका थिए, जुन हालसम्म विचाराधीन अवस्थामा छ। साथै, २०७९ सालदेखि जिल्ला अदालत काठमाडौँमा पनि मुद्दा चलिरहेको छ। पटक-पटक पेसीमा चढ्दा पनि मुद्दाको टुंगो नलाग्दा उनी थप निराश बनेका छन्।
आगामी चैत ३० गते फेरि मुद्दाको पेसी तोकिएको उनी बताउँछन् । उक्त मितिसम्म पनि न्याय नपाए आफूले काठमाडौँ जिल्ला अदालत अगाडि आत्मदाह गर्ने चेतावनी दिएका छन्। ‘मसँग न खाने ठाउँ छ, न बस्ने ठाउँ। समाजले मलाई आधारभूत आवश्यकताबाटै वञ्चित गराएको छ,’ उनले भने।
दुलालका अनुसार उनको परिवारले उनलाई सम्पत्तिबाट वञ्चित गर्न करिब एक करोड रुपैयाँ खर्च गरिसकेको छ। अदालतले मिलापत्रको सुझाव दिए पनि परिवार त्यसमा तयार नभएको उनले बताए। उनकी ८२ वर्षीया आमाले समेत अन्तरजातीय विवाहकै कारण उनलाई छोरा मान्न अस्वीकार गरेको उनको दाबी छ।
हाल माइतीघरमा धर्नामा बसेका दुलाल न्यायको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन्। उनले जातीय विभेद अन्त्य गर्दै आफूलाई न्याय दिलाउन राज्यसँग आग्रह गरेका छन्।
