काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उप-सभामुख पदका लागि निर्वाचन सुरु भएकोे छ। संसद् सचिवालयका अनुसार निर्धारित कार्यसूचीअनुसार बस्ने बैठकमा उपसभामुख चयनका लागि मतदान प्रक्रिया सुरु गरिएको हो ।
उप-सभामुख पदका लागि श्रम संस्कृति पार्टीकी सांसद रुबी कुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा प्रतिस्पर्धामा छन्। दुवै उम्मेदवार समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा प्रवेश गरेका हुन्।
निर्वाचनमा सत्ता पक्षको समर्थन रुबी कुमारी ठाकुरतर्फ देखिएको छ। सत्तारुढ दलहरूको बहुमत समर्थनका कारण ठाकुरको जितको सम्भावना बलियो मानिएको छ। प्रमुख दलहरूले पनि उनलाई समर्थन गर्ने संकेत गरेका छन्।
यता, राप्रपाकी सरस्वती लामा भने आफ्नै दलको समर्थनमा चुनावी मैदानमा उत्रिएकी छन्। सीमित संख्यात्मक समर्थनका बाबजुद उनले प्रतिस्पर्धालाई औपचारिकता दिने अपेक्षा गरिएको छ।
निर्वाचन प्रक्रियाअनुसार बैठकमा उम्मेदवारको प्रस्ताव पेश गरिनेछ र त्यसपछि मतदान हुनेछ। बहुमत प्राप्त गर्ने उम्मेदवार उप-सभामुख पदमा निर्वाचित हुनेछन्।
मतदान सम्पन्न भएसँगै आजै उप-सभामुखको औपचारिक घोषणा गरिने संसद् सचिवालयले जनाएको छ।