पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता, खोजीकार्य तीव्र

दियोपोस्ट संवाददाता  

काठमाडौँ । पर्वत जिल्लाको मोदी गाउँपालिका-२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता भएकी छन्। परिवारका अनुसार गत चैत २९ गते उनी जलजला गाउँपालिका-७ धाइरिङस्थित आफ्नो मामाघरबाट घर फर्किने क्रममा हराएकी हुन्।

प्रहरीका अनुसार रितिका मालढुङ्गा-बेनी सडकअन्तर्गत मिलनचोकबाट मोदी गाउँपालिकाको पातीचौरतर्फ जाने गाडीमा चढेको देखिएकी थिइन् । त्यसपछि उनी सम्पर्कबिहिन भएको बताइएको छ । सोही बिन्दुबाट उनको अवस्था अज्ञात बनेपछि परिवारमा चिन्ता बढेको छ।

जिल्ला प्रहरी कार्यालयले घटनालाई गम्भीर रूपमा लिँदै खोजीकार्य तीव्र पारेको जनाएको छ। प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार बेपत्ता किशोरीको हुलियासहित जिल्लाभर तथा छिमेकी जिल्लाका प्रहरी युनिटहरूलाई समेत खोजीमा परिचालन गरिएको छ। सम्भावित स्थानहरूमा निगरानी बढाइएको र सार्वजनिक यातायात, होटल तथा भीडभाड हुने क्षेत्रहरूमा समेत खोजतलास जारी राखिएको प्रहरीले जनाएको छ।

परिवारले छोरीको अवस्था अज्ञात रहँदा गहिरो चिन्ता व्यक्त गर्दै छिटो खोजीमा सहयोग गर्न सबैसँग अपिल गरेको छ। स्थानीयवासी तथा सरोकारवालाहरूले पनि सामाजिक सञ्जालमार्फत सूचना फैलाउँदै खोजीमा सहयोग गरिरहेका छन्।

प्रहरीले रितिका जैसीबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालयमा वा सम्बन्धित नम्बरमा तुरुन्त सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

सिफारिस