काठमाडौँ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगञ्जको गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक विस्तार अभियान औपचारिक रूपमा सुरु भएको छ। सर्वोच्च अदालतको फैसलाले कानुनी अवरोध हटाएपछि सडक डिभिजन कार्यालय हेटौंडाले आइतबार बिहान ४ः३० बजेदेखि काम अघि बढाएको हो।
लामो समयदेखि विचाराधीन मुद्दामा गत फागुन २८ गते अदालतले रिट खारेज गर्दै सडक विस्तारको पक्षमा निर्णय गरेपछि काम अघि बढाउने बाटो खुलेको थियो । विस्तार कार्यका लागि गण्डक, पावरहाउस, घण्टाघर, आदर्शनगर र मितेरी पुल क्षेत्रमा एकैसाथ १३ वटा डोजर, जेसीभी र एक्साभेटरसहित ठूलो जनशक्ति परिचालन गरिएको छ। सडकको दायाँ-बायाँ २५-२५ मिटर क्षेत्रमा रहेका स्थायी तथा अस्थायी संरचना हटाउने काम पाँच स्थानबाट एकैपटक सुरु गरिएको बताइएको छ ।
प्रशासनका अनुसार पावरहाउस, मुर्ली, घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु होटल चोक, वीर्ता, छपकैया, भन्सार हुँदै मितेरी पुलसम्मको सडक आजै २५-२५ मिटर फराकिलो बनाउने लक्ष्य राखिएको छ। यसअघि उक्त क्षेत्रमा रहेका १ हजार २ सयभन्दा बढी घरधनीले सडक विस्तारले बसोबास जोखिममा पर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
तर, प्रशासनले कार्य सुरु गर्नु अघि मात्र १२ घण्टाको सूचना दिएर संरचना खाली गर्न आग्रह गरेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्। पर्याप्त समय र पूर्वतयारी बिना डोजर चलाइएको भन्दै प्रभावित बासिन्दा आक्रोशित देखिएका छन्।
अचानक सुरु गरिएको भत्काउने अभियानका कारण केही क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ, जसले जनजीवन थप प्रभावित बनाएको छ। सुरक्षा व्यवस्था कडा पारिएको क्षेत्रमा स्थानीयवासी आफ्नै घर भत्किँदै गरेको दृश्य हेर्न बाध्य छन्, जसले उनीहरूमा मानसिक तनाव र पीडा बढाएको छ।
करिब १३ वर्षदेखि रोकिएको वीरगञ्जको मुख्य सडक विस्तार कार्य सुरु भएसँगै आधुनिक र व्यवस्थित शहर निर्माण हुने अपेक्षा गरिएको छ। सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरु अधिकारीका अनुसार गण्डक चोकदेखि मितेरी पुलसम्मको सडकलाई राष्ट्रिय राजमार्ग मापदण्डअनुसार २५-२५ मिटर फराकिलो बनाइनेछ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सडक अतिक्रमण हटाउने अभियानमा स्थानीयको साथ र सहयोग पाएकोमा धन्यवाद व्यक्त गरेका छन्।