रौतहट डिभिजन वन प्रमुखको अभिव्यक्ति विवादमा, निष्पक्ष छानबिनको माग

दियोपोस्ट संवाददाता  

रौतहट । रौतहट जिल्लाका डिभिजन वन प्रमुख हेमन्त साहको सार्वजनिक अभिव्यक्तिपछि वन प्रशासनभित्र नयाँ विवाद उत्पन्न भएको छ। रौतहटस्थित खोरकटी सामुदायिक वनका पदाधिकारीहरूसँग आयोजित एक कार्यक्रममा बोल्दै साहले विवादित अभिव्यक्ति दिएको भन्दै विवाद उत्पन्न भएको हो ।

कार्यक्रममा साहले “तपाईंहरू जेलमा हुनुपर्थ्यो, मेरो कारणले मात्रै जोगिनुभयो” भन्ने अभिव्यक्ति दिएका थिए । साहको उक्त भनाइ सार्वजनिक भएसँगै सामाजिक सञ्जालदेखि स्थानीय तहसम्म तीव्र बहस सुरु भएको छ। जिम्मेवार सरकारी पदमा रहेका व्यक्तिबाट यस्तो टिप्पणी आउनु गम्भीर विषय भएको भन्दै सरोकारवालाहरूले निष्पक्ष छानबिनको माग गरेका छन्।

स्थानीय स्रोतका अनुसार साहको अभिव्यक्तिले वनसम्बन्धी अनुसन्धान तथा कारबाही प्रक्रियामा हस्तक्षेप भएको संकेत गर्न सक्ने देखिएको छ। यदि वास्तवमै कसैलाई कानुनी कारबाहीबाट जोगाइएको हो भने त्यसले प्रशासनिक निष्पक्षता र कानुनी शासनमाथि गम्भीर प्रश्न खडा गर्ने देखिन्छ।

यस घटनापछि डिभिजन वन कार्यालयको कार्यशैली र निर्णय प्रक्रियामाथि समेत प्रश्न उठ्न थालेका छन्। सार्वजनिक पदमा बसेका कर्मचारीको यस्तो अभिव्यक्तिले राज्य संयन्त्रको विश्वसनीयतामाथि असर पर्ने भन्दै सम्बन्धित निकायले तथ्यगत छानबिन गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ।

त्यसैगरी, साहकै भनाइलाई आधार मान्दा उनले पदाधिकारीहरूलाई जोगाउने क्रममा अनुचित लाभ लिएको हुन सक्ने आशंका पनि व्यक्त गरिएको छ।

अब सम्बन्धित निकायले यस घटनामा कस्तो कदम चाल्छन् भन्ने विषय चासोको केन्द्र बनेको छ। सुशासन र शून्य सहनशीलताको नीति अपनाउने भनिएको वर्तमान व्यवस्थाले डिभिजन वन प्रमुख साहमाथि कारबाही अघि बढाउँछ वा अन्य निर्णय लिन्छ भन्ने कुराले आगामी दिशालाई निर्धारण गर्ने देखिएको छ। साथै, वन संरक्षण क्षेत्रमा काम गर्ने व्यक्तिहरूले समेत यस घटनाप्रति गम्भीर प्रश्न उठाइरहेका छन्।