दलित पत्रकार संघमा महाधिवेशन विवाद उत्कर्षमा, नेतृत्व तह दुई धारमा विभाजित

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै जाँदा संगठनभित्रै गम्भीर विवाद देखिएको छ। आगामी वैशाख ११ र १२ गते चितवनको नारायणघाटमा महाधिवेशन गर्ने पूर्वनिर्धारित मितिलाई लिएर नेतृत्व तह नै दुई धारमा विभाजित भएको हो।

संघका अध्यक्षसहित केही पदाधिकारीहरूले पर्याप्त तयारी र स्रोत व्यवस्थापन नभएको भन्दै महाधिवेशन केही समय पछाडि सार्नुपर्ने अडान राखेका छन्। उनीहरूले वैशाख अन्तिम साता वा जेठको पहिलो सातातिर महाधिवेशन गर्दा व्यवस्थापन सहज हुने तर्क गरेका छन्। अध्यक्ष पक्षका अनुसार आर्थिक स्रोतको अभाव, छोटो तयारी समय र जिल्लाबाट आउने प्रतिनिधिहरूको व्यवस्थापन चुनौतीपूर्ण भएकाले हतारमा महाधिवेशन गर्नु उपयुक्त नहुने बताइएको छ।

संगठनका अध्यक्ष बिनोद पहाडीका अनुसार महाधिवेशन सफल बनाउन आर्थिक स्रोत मुख्य आधार हो, तर हालसम्म पर्याप्त स्रोत जुट्न सकेको छैन। छोटो समयमा हतार गरेर गर्दा संगठनलाई नै आर्थिक र प्रतिष्ठागत भार पर्न सक्ने उनको तर्क छ । उनले सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग भर्चुअल बैठकमार्फत छलफल गरेर सर्वसम्मत निर्णयमा पुग्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन्।

उनका अनुसार महाधिवेशनलाई व्यवस्थित र उत्साहजनक बनाउन थप समय आवश्यक रहेको र जिल्लाबाट आउने प्रतिनिधिहरूलाई पनि आर्थिक तथा व्यवस्थापनका हिसाबले सहज हुने वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ। “कम खर्चमै भए पनि व्यवस्थित र उत्साहपूर्ण महाधिवेशन गरौँ भन्ने हाम्रो उद्देश्य हो,” उनले भने।

यता महासचिव, उपाध्यक्ष, कोषाध्यक्ष लगायतका पदाधिकारी भने पूर्वनिर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्। उनीहरूले जिल्ला र प्रदेश तहका समितिहरूलाई सोही मितिअनुसार तयारी गर्न निर्देशनसमेत दिइसकेका छन्।

संघका उपाध्यक्ष गोपाल बराइलीले पटक-पटक महाधिवेशन स्थगित हुँदै आएकोप्रति असन्तुष्टि व्यक्त गर्दै यसपटक कुनै पनि हालतमा मिति नसारिने स्पष्ट पारे। “२०७७ सालमा बुटवलमा पहिलो महाधिवेशन भव्य रूपमा सम्पन्न भएको थियो। तर त्यसपछि हरेक दुई वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षसम्म हुन सकेको छैन,” उनले भने।

बराइलीका अनुसार बारम्बार मिति तोक्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले संगठनको विश्वसनीयतामाथि प्रश्न उठेको छ। “पुष महिनामै मिति तय गरिएको हो, पाँच महिना बितिसक्दा पनि तयारी पुगेन भन्नु अध्यक्षको गैरजिम्मेवारी हो। जति स्रोतसाधन उपलब्ध छ, त्यसैका आधारमा महाधिवेशन सम्पन्न गर्नुपर्छ भनेर हामी लागेका छौँ,” उनले बताए।

उनले केही व्यक्तिको असहमतिको आधारमा महाधिवेशन रोक्न नसकिने बताउँदै संगठनलाई विधि र विधानअनुसार अघि बढाउन आवश्यक रहेको धारणा राखे।

दुवै पक्ष आ-आफ्नो अडानमा अडिग रहँदा संघभित्रको विवाद थप गहिरिने संकेत देखिएको छ। यद्यपि अध्यक्ष पक्षले अन्तिमसम्म सहमति र समन्वयमार्फत समाधान खोज्ने प्रयास जारी राख्ने जनाएको छ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा सहमति जुट्ने वा विवाद थप चर्किने भन्ने विषय अहिले सबैको चासोको केन्द्र बनेको छ।