काठमाडौँ । गृह मन्त्री सुधन गुरुङले पदबाट राजिनामा दिनु पर्ने दवाव बढ्न थालेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा प्रत्यक्ष साझेदारी रहेको प्रमाण सार्वजनिक भएपछि गुरुङमाथि राजीनामाको दबाब बढ्दै गएको हो ।
भट्टसम्बद्ध स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको खुलेपछि सत्तारूढ रास्वपाभित्रै उनको पदत्यागको माग उठ्न थालेको बताइएको छ ।
अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैं संलग्न रहँदा अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज पार्टीभित्र तीव्र बन्दै गएको हो ।
दबाब बढ्दै जाँदा मन्त्री गुरुङ आइतबार साँझ बूढानीलकण्ठस्थित लामिछाने निवास पुगेका थिए। सुरक्षा स्रोतका अनुसार उनी राति करिब ८ बजे पुगेका थिए भने १० बजेतिर त्यहाँबाट निस्किएका थिए।
भेटका क्रममा पार्टी सभापति लामिछाने र गृहमन्त्री गुरुङबीच २ घण्टा लामो छलफल भएको बताइएको छ । स्रोतका अनुसार गुरुङले प्रधानमन्त्री बालेन्द्र साह र पार्टी सभापति लामिछानेबीच फोन संवाद गराउँदै राजीनामाको दबाब कम गर्ने प्रयास गरेका थिए।
यस विषयमा सभापति लामिछानेले सोमबार बस्ने पार्टी बैठकमै आफ्नो धारणा राख्न सुझाव दिएको पनि स्रोतले जनाएको छ।