बनेपाका कन्स्ट्रक्सन व्यवसायी राजमान तामाङविरुद्ध भ्रष्टाचार मुद्दा, पाँच लाख घुस प्रकरणमा आरोपपत्र दायर

दियोपोस्ट संवाददाता  

काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका-३ का हिमाल तराई कन्स्ट्रक्सन प्रा.लि.का प्रोप्राइटर राजमान तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, विशेष अदालत काठमाडौँमा दायर गरिएको मुद्दामा तामाङसँगै चन्द्रबहादुर अधिकारी समेत प्रतिवादी रहेका छन्। उनीहरूमाथि घुस प्रकरणमा असत्य बयान (प्रतिकूल बकपत्र) गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

आयोगका अनुसार नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका तत्कालीन अध्यक्ष अधिकारीले रमेश आचार्यसँग मिलेमतो गरी तामाङलाई बैंकबाट ऋण दिलाइदिने भन्दै पाँच लाख रुपैयाँ घुस मागेका थिए। उक्त रकम लिन-दिन सहमति भएको पनि अनुसन्धानमा खुलेको छ।

सेवाग्राही तामाङबाट लिइएको भनिएको पाँच लाख रुपैयाँको चेक अधिकारीको घरको कोठाबाट बरामद भएको आयोगले जनाएको छ। सो रकममार्फत गैरकानुनी लाभ लिने प्रयास भएको पनि पुष्टि भएको दाबी गरिएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९(३) अनुसारको कसुरमा पाँच लाख रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवाना सजाय माग गर्दै सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

सिफारिस