काठमाडौँ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा एक विवाह समारोहका क्रममा भएको आक्रमणमा एक युवकको मृत्यु भएको छ।
पुनर्वास नगरपालिका वडा नम्बर ५ भानुबस्तीमा सोमबार राति आयोजित विवाह कार्यक्रममा सहभागी हुन गएका १८ वर्षीय उज्ज्वल सायरमाथि अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको हो ।
प्रहरीका अनुसार घटना राति करिब १ः३० बजेतिर भएको थियो । धारिलो हतियारबाट गम्भीर घाइते भएका सायरलाई तत्काल उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा राति करिब २ः३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
प्रहरीका अनुसार आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ। घटनाको कारण खुल्न बाँकी रहेको छ भने विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।