काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुम्वासीहरूले वैकल्पिक व्यवस्था बिना बस्ती हटाउन खोजिएको भन्दै शुक्रबार बिहानैदेखि प्रदर्शन गरेका छन्। उनीहरूले सरकारले समस्या समाधान गर्नुको साटो आफूहरूलाई विस्थापित गर्न लागेको भन्दै प्रदर्शन जारी राखेका हुन् ।
उनीहरुले बिहानैदेखि बिभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् । गरिब माथि अन्याय बन्द गर ! जर्वजस्ती उठिबास बन्द गर ! प्रधानमन्त्री ज्यू, बोली र काममा फरक पर्यो नि ! हामी उठीबास स्वीकार गर्दैनौँ, घर होइन अन्याय भत्काउ ! जस्ता नारा लेखेका प्लेकार्ड प्रदर्शन गरिरहेका छन् ।
स्थानीय बासिन्दा दलमर्दन कामीले सरकारले उचित व्यवस्थापन गरेमा आफूहरू सहज रूपमा स्थान खाली गर्न तयार भएको बताए । पनि कुनै विकल्प नदिई बस्ती खाली गर्न निर्देशन दिइएको भन्दै उनले सरकारको बिराध गरे । ‘सरकारले बस्ती खाली नगरे डोजर लगाउने चेतावनी दिइएको छ, तर हामी कहाँ जाने?’ उनले प्रश्न गरे।
उनका अनुसार जाने ठाउँ भएका केही परिवार बस्ती छाडिसकेका छन्, तर अधिकांशसँग विकल्प छैन। थापाथली क्षेत्रमा मात्रै करिब १३५ घरधुरी सुकुम्वासी बसोबास गर्दै आएका छन्।
प्रधानमन्त्रीको निर्देशनपछि महानगरपालिकाले बागमती नदी किनार अतिक्रमण हटाउने अभियान तीव्र बनाएको छ। प्रहरीले बिहीबार बेलुकी माइकिङ गर्दै तत्काल बस्ती खाली गर्न आग्रह गरेपछि शुक्रबार बिहानदेखि केही स्थानीयले आफ्ना सामान सार्न थालेका छन्।
स्थानीय प्रशासनका अनुसार बागमती नदी किनारलाई अतिक्रमणमुक्त बनाउने दीर्घकालीन योजनाअन्तर्गत यो कदम चालिएको हो। नदी किनारमा बसोबास गर्दा बाढीको उच्च जोखिम हुने तथा वातावरणीय असर पर्ने भएकाले यस्तो निर्णय लिइएको जनाइएको छ।
तर सुकुम्वासीहरूले भने पुनर्वासको सुनिश्चितता बिना हटाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले राज्यसँग वैकल्पिक बसोबासको व्यवस्था गर्न माग गरेका छन्।
यसैबीच, मानवअधिकारकर्मी तथा विभिन्न सरोकारवालाहरूले सुकुम्वासीहरूको अधिकार सुनिश्चित गर्दै व्यवस्थित रूपमा स्थानान्तरण गर्न सरकारलाई आग्रह गरेका छन्। हाल उक्त क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने बस्ती खाली गर्ने प्रक्रिया क्रमशः जारी रहेको प्रहरीले जनाएको छ।
