काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की कोशी प्रदेश सांसद सम्झना पाख्रिनमाथि श्रम शोषणको समेत आरोप लागेको छ । उनले उदयपुर जिल्ला त्रियुगा नगरपालिका-१० बोक्सेकी बिमला विश्वकर्मालाई ६ वर्षसम्म बिना पारिश्रमिक घरायसी काममा लगाई श्रम शोषण गरेको आरोप लागेको हो ।
पीडित बिमलाका अनुसार उनले पाख्रिनको घरमा खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, सरसफाइ गर्ने जस्ता कामसँगै परिवारका अन्य व्यक्तिगत कामहरू समेत गर्दै आएकी थिइन् । ‘६ वर्षसम्म उहाँले जे भन्नु हुन्थ्यो त्यही मानेँ, तर एक रुपैयाँ पनि पारिश्रमिक पाइएन, बरु उल्टै धम्की सहनुपर्यो,’ उनले गुनासो गरिन्।
‘उहाँको श्रीमानको भित्री कपडा समेत धोइदिए । बच्चाको दिसा धोइदिए । पार्टीको बैठक र हरेक कार्यक्रममा उहाँको बच्चा बोकेर हिँडे । ६ वर्ष सम्म उहाँले जे भन्नु हुन्छ त्यही माने । तर ६ वर्षसम्म एक रुपैयाँ समेत पारिश्रमिक पाइन,’ उनले रुँदै भनिन् ।
सांसद पाख्रिनले छलकपट गरी आफ्नो साढे १६ धुर जग्गा अर्कैको नाममा पास गराइदिएको समेत पीडितको आरोप छ । पाख्रिनले २०७२ सालमा आफूलाई समस्या परेको भन्दै चार महिनाका लागि जग्गा पास गरिदिन आफुसंग आग्रह गरेको पीडितले बताएकी छन्।
‘तिमीलाई काम लगाईदिउँला, बच्चाहरु पढाइदिउँला, त्यो जग्गा ४ महिनाका लागि पास गरिदेउ’ भन्नु भयो, मैले बिश्वास गरेर जग्गा पास गरिदिँए । तर १० वर्ष भइसक्यो, अहिलेसमम जग्गा फिर्ता आएको छैन । न पैसा दिनु हुन्छ,’ उनले भनिन्। उक्त जग्गा पाख्रिनकै चिनेजानेकी कमला सम्बाहाम्फेको नाममा २०७२ असार १९ गते पास गरिएको काजगात समेत देखिएको छ । ।
जग्गा फिर्ता माग्दा उल्टै गालीगलौज र धम्की दिएको आरोप समेत बिमलाले लगाएकी छन्। ‘मैले उहाँलाई सेवा गरेको बदलामा उल्टै जग्गा लुट्नु भयो,’ उनले दुखेसो पोखिन्। अहिलेसम्म उक्त जग्गाबापत कुनै रकम समेत नपाएको पीडितको भनाई छ ।
यस विषयमा प्रतिकृया लिन खोज्दा पाख्रिनले दियोपोष्टकर्मी संचारकर्मीलाई धम्की दिएकी छन् । पाख्रिनले आफु हेटौडा शहरमा हुर्केको धनीको छोरी भएको भन्दै प्रश्न गर्ने पत्रकारका बिरुद्ध साइबर क्राइमको मुद्धा हाल्ने धम्की दिइन् ।
‘ओइ बैनी, तिमीले को संग कुरा गरिरहेकी छौ? म को हो थाहा छ तिमीलाई? म एउटा धनीको छोरी हो । मैले दुख गरेर समाज सेवा गरेको छु । त्यस्तै ग्रास लेवलका मान्छेहरुलाई अन्याय अत्याचारबाट मुक्त गर्न पर्छ भनेर लड्ने, मलाई उल्टै आरोप लगाउने? कहाँ हो तिमी म त्यही आउँछु । म तिमीहरुको मिडियाका बिरुद्ध साइबर क्राइमको मुद्धा हालिदिन्छु ।’
पाख्रिनले उल्टै बिमलाले डेढ लाख रुपैयाँ लिएको आरोप पनि लगाएकी छन्।