जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अवैध रूपमा बसोबास गर्दै आएका सुकुमवासी बस्ती खाली गराउन विशेष सूचना जारी गरेको छ। कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार २०८३ वैशाख ११ गते साँझ ७ बजेसम्म त्यस्ता घर टहराहरू पूर्ण रूपमा खाली गर्न आग्रह गरिएको छ।
सूचनामा भनिएको छ कि बासिन्दाहरूले आफैले आफ्नो घर टहरा हटाउन नसक्ने अवस्था भएमा महानगरीय प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसँग समन्वय गर्न सक्नेछन्। आवश्यक परेमा सुरक्षाकर्मीहरूले ढुवानी व्यवस्थासमेत मिलाउने जनाइएको छ।
त्यसैगरी, घर टहरामा रहेका व्यक्तिगत सामान, लत्ताकपडा तथा घरपालुवा पशुपंक्षीलाई सुरक्षित स्थानमा तत्काल सार्न पनि प्रशासनले निर्देशन दिएको छ। विशेषगरी अपाङ्गता भएका व्यक्ति, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा तथा बिरामीलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ। यस कार्यमा सुरक्षाकर्मीको सहयोग लिन सकिने उल्लेख गरिएको छ।
प्रशासनका अनुसार वैशाख १२ गते बिहान ६ बजेदेखि अवैध रूपमा बनाइएका घर टहरा भत्काउने तथा अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गर्ने कार्य सुरु हुनेछ। सो क्रममा कसैले अवरोध सिर्जना गरेमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
सूचनामा उठाइएका परिवारहरूलाई सरकारले तोकेका न्यूनतम आधारभूत सुविधा भएका स्थानमा अस्थायी रूपमा राखिने उल्लेख गरिएको छ। साथै, सुरक्षित बसोबासको व्यवस्था भएपछि सम्बन्धित मन्त्रालय तथा निकायहरूले वास्तविक भूमिहीन सुकुमवासीहरूको पहिचान ९लगत संकलन० तथा स्क्रिनिङ प्रक्रिया सुरु गर्ने जनाइएको छ।
प्रशासनले आगामी १० देखि १५ दिनभित्र वास्तविक भूमिहीनलाई पहिचान गरी उचित बसोबासको व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिँदै यस कार्यमा सम्बन्धित सबैलाई सहयोग गर्न अपिल गरेको छ।
