सिन्धुली हिरासतमा युवाको मृत्यु भएको घटना प्रकरणमा प्रहरीद्वारा छानबिन समिति गठन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सिन्धुलीमा प्रहरी हिरासतमा एक युवाको मृत्यु भएको घटनाबारे नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ। जिल्लाको सुनकोशी गाउँपालिका–३ झन्लीडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको हिरासतमा मृत्यु भएपछि घटनाबारे छानबिा गर्न समिति गठन गरेको हो ।

विकलाई जबरजस्ती करणी आरोपमा पक्राउ गरी प्रहरी हिरासतमा राखिएको थियो। प्रहरीका अनुसार विक हिरासतभित्र मृत फेला परेका थिए। प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको आशंका गरिएको प्रहरीले जनाएको छ।

तर मृतकका परिवारजनले भने कुटपिटपछि हत्या गरिएको आरोप लगाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

घटनाको सत्यतथ्य पत्ता लगाउन बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको प्रहरी स्रोतले जनाएको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पनि छुट्टै छानबिन प्रक्रिया अघि बढाएको छ।

घटनापछि विभिन्न मानवअधिकारकर्मी तथा राजनीतिक दलका प्रतिनिधिहरूले विरोध जनाउँदै निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

हिरासतमा भएको मृत्युबारे वास्तविक कारण अझै खुल्न बाँकी रहेकाले छानबिन समितिको प्रतिवेदनपछि मात्र घटनाको यथार्थ बाहिर आउने अपेक्षा गरिएको छ।

सिफारिस