पत्रकारीताको अवरणमा ‘अनेकधन्दा’ : नक्कली असई बनेर पैसा उठाउनेदेखि, प्रहरीको भेषमा सुन टिप्न जानेसम्म !

दियो पोस्ट  

काठमाडौं, चैत १८ । पत्रकारिताको नाममा ठगी गर्ने दाङ तुलसीपुरका भुवन धिताललाई प्रहरीले नियन्त्रणमा लिएको छ । महेश उपनाम राखेर ठगी गर्दै आएका धिताललाई प्रहरीले गत बुधबार दाङ र बाँकेको सिमानाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पत्रकारिता पेसा पछिल्लो समय धन्दावालाहरुले कब्जा गर्दैै आएका छन् ।

समाजमा उनीहरुकै हाँकोडाँको बढ्दै गएको छ । पत्रकारिताको आडमा त्यसैगरी धन्दा चलाउने एक जना टेलिभिजनका सञ्चालक लागूऔषध कारोबारमा रंगेहात पक्राउ परेपछि अहिलेसम्म जेलमा रहेका छन् । २०५६ सालमै इन्टरपोलले पक्राउ गर्न निर्देशन दिएको अर्को टेलिभिजनका सञ्चालक अहिलेसम्म पक्राउ परेका छैनन् । त्यतिबेला दिल्लीमा लागूऔषधसहित पक्राउ परेका छ जना भरियाले उनको नाम पोलेका थिए । 

हालैमात्र अर्का एक मिडियाका सञ्चालकले किर्ते बैंक भौचर बनाएर जग्गापास गरेको प्रमाण सार्वजनिक भएपछि सम्बन्धित कुनै पनि निकायले उनीमाथि कारबाही गरेको छैन । अर्काे एउटा टेलिभिजनका सञ्चालकले वर्षेनी टेलिभिजनको नाम फेरेर राज्यलाई निरन्तर ठग्दै आउँदा पनि उनीमाथि कुनै कारबाही भएको छैन ।

अर्को एउटा मिडियामा बैंकको सेयरमा सञ्चालन भएको फाइलमाथि नेपाल राष्ट्र बैंकले हेर्न पनि चाहेको छैन । अर्को एउटा मिडियामा सञ्चालककी श्रीमतीका कारण २०६१ सालमा उद्यमी उपेन्द्र महतोका पिता रामासिस महतो यौनकाण्डमा परेर प्रहरीको खोरमा जाकिएका थिए । 

अर्को एउटा पत्रकार नक्कली भारतीय मुद्राको कारोबारमा पक्राउ परेका थिए तर कुनै ठोस कारबाही भएन । एक जना पत्रकार असइको डे«स लगाई भट्टेडाँडामा प्लेन खस्ता सुन टिपेका थिए र उनी दुई वर्ष जेल जीवन बिताएर फर्किएपछि सम्पादक भएका छन् । प्रहरीको ड्रेस लगाएर रकम उठाउने व्यक्ति पनि अहिले ठूलो पत्रकार बनेका छन् । पत्रिकाको सम्पादक प्रकाशकलाई थाहै नदिई नेपाल प्रहरीको झण्डै एक पेज विज्ञापन छापेर किर्ते धन्दा गरेका एक जना वरिष्ठ हुनलागेका पत्रकार प्रहरीका उच्च अधिकारीहरुसँगै निकट रहँदै आएका छन् ।

केही महिनाअघि राज्यका गोप्य केही सूचना चीन गएर ‘होम डेलिभरी’ गरेर फर्किएका पत्रकारको सशस्त्र उच्च अधिकारीहरुसँग गहिरो हिमचिम रहँदै आएको छ । पत्रकारिताको आडमा जस्तोसुकै धन्दा चलाउँदा समेत कारबाही नहुने र राज्य प्रशासन पछि हट्ने घटनाक्रम देखिएपछि माफियाले मिडियामा प्रवेश गरेर धन्दा चलाउँदै रहेको अवस्थामा एउटा नटवलरलाल पक्राउ पर्दा अरु सबै धन्दावालाहरु झस्किएका छन् । यसैक्रममा पत्रकारको आवरणमा सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाउँदै लाखौं ठगी र जबर्जस्ती करणी गरेको अभियोगमा धिताललाई प्रहरीले पक्राउ गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका–११ बेलगनार निवासी ४० वर्षीय धिताललाई ठगी र जबर्जस्ती करणी अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । पक्राउ परेका धितालको चेक रकम १ करोड ६९ लाख, ८२ थान चेक, २ वटा खाली चेक, ३२ वटा तमसुक, तमसुक रकम १ करोड २४ लाख, ४ वटा ढुकुटी खेलाउने रजिष्ट्रार, थप ४ वटा खाली तमसुक, एक थान जलजला अनलाइनको पत्रकार परिचयपत्र, २ थान मोबाइल, १८ हजार ५ सय नगद, २ वटा सुनको औंठी, १ थान ब्रासलेट, १ थान हाते घडी, बा.१५च ७६६८ नम्बरको गाडी र भे.८प ३९५५ नम्बरको स्कुटी समेत बरामद भएको एसपी पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिए । (आर्थिक दैनिकबाट)