काठमाडौं, चैत १८ । सरकारले बारा र पर्साको विभिन्न स्थानमा हुरी बतासमा परी मृत्यु हुनेहरुको संख्या २७ जना पुगेको पुष्टि गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबार १२ बजे बारा र पर्साको विभिन्न स्थानमा हुरी र बतासमा परी ज्यान जानेहरुको संख्या २७ जना पुगेको पुष्टि भएको जानकारी दिएका हुन् । गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आईतबार साँझ आएको हुरी बतासमा परी बाराका २६ जना र पर्सामा १ जना गरी हालसम्म २७ जनाको ज्यान गएको बताए ।
हुरी बतासमा परी गम्भिर घाइते भएका ७ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याई शिक्षण अस्पताल, महाराजगंजमा उपचार सुरु गरिएको छ । गृह प्रवक्ता सुवेदीले सो घटनामा परी घाइते भएका ३ सय ७५ जनाको बारा र पर्सास्थित विभिन्न ७ वटा अस्पतालमा उपचार भईरहेको पनि जानकारी दिए ।
सरकारले सो घटनाको राहत तथा उद्दारका लागि सुरक्षा निकायका ४ वटै अंगहरु परिचालन गरिएको पनि जनाएको छ । प्रवक्ता सुवेदीले उनीहरुको राहतका लागि तत्काल काठमाडौंबाट सशष्त्र प्रहरी बलको ३ वटा ट्रकमा आवश्यक सामान पठाइएको पनि जानकारी दिए ।
राहत तथा उद्धारका लागि आवश्यक व्यवस्था गर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ पनि केही बेरमा बारा पुग्ने कार्यक्रम रहेको पनि गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता सुवेदीले सो घटनामा कति धनजनको क्षति भएको हो ? त्यसको विवरण संकलन गर्ने कार्य पनि सम्बन्धित जिल्ला विपत्त व्यवस्थापन समितिको नेतृत्वमा सुरु गरिएको पनि जानकारी दिए ।