काठमाडौं, चैत २० । बारा र पर्सामा हावाहुरी प्रभावितहरुका लागि भएको राहत वितरण प्रभाविकारी हुन सकेको छैन । कत्तिपयले आवश्यकताभन्दा बढि राहत पाएपनि कत्तिपयले अझै राहत पाउन नसकेका त्यहाँ हावाहुरी पीडीतहरुले बताएका छन् ।
राहत वितरणका लागि प्रभावित क्षेत्रमा व्यक्तिगत र संस्थागत रुपमा पुगेकाहरुले समन्वय नगर्दा प्रभावितहरुलाई राहत वितरण प्रभावकारी नभएको स्थानीय जनप्रतिनिधिहरुको गुनासो छ ।
विभिन्न संघसंस्था र व्यक्तिले दिनहुँ ठूलो परिमाणमा राहत सामग्री वितरण गरे पनि आफूहरुले पाउन नसकेको बाराको फेटा गाउँपालिका–६ पुरैनियाका पीडितले गुनासो गरेका छन्।
व्यक्तिहरुले मनपरी ढंगले राहत वितरण गर्दै फोटो खिचाउने गर्ने गरेका कारण राहत वितरण व्यस्थित हुन नसकेको फेटा ६ का वडाध्यक्ष जाकिर अन्सारीले बताए ।
एकद्वार प्रणालीले राहत वितरणको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरे पनि सुनुवाई नभएको उनके भनाइ छ ।
यस्तै हावाहुरी प्रभावित क्षेत्रको लगत संकलन समेत प्रभावकारी हुन सकेको छैन । उद्दारको काममा व्यस्त हुनुपरेकोले लगत संकलनमा समस्या भएको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।