काठमाडौं, चैत २४ । संसदीय उपसमितिले तारागाउँ रिजेन्सी होटललाई मालपोत ऐन प्रतिकूल हुनेगरी दिइएको १ सय ५० रोपनी जग्गा तत्काल आफ्नो स्वामित्वमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति अन्तरगतको उपसमितिले आईतबार समितिमा बुझाएको प्रतिवेदनमा तारा गाउँ विकास समितिले अनुचित तवरले सो होटललाई हक हस्तान्तरण गरिदिएको १ सय ५० रोपनी जग्गा तत्काल आफ्नो मातहतमा ल्याउन सरकारलाई निर्देशन दिनुपर्ने उल्लेख गरिएको हो । मातपोत ऐन प्रतिकूल हुने गरी सो होटललाई हक हस्तान्तरण गरी दिइएको १ सय ५० रोपनी जग्गा तत्काल सरकारको मातहत ल्याउन निर्देशन दिइएको उपसमितिका संयोजक अग्नीप्रसाद सापकोटाले जानकारी दिए ।
उपसमितिले तारा गाउँ रिजेन्सी होटललाई २९ वर्षका लागि मात्र लिजमा दिने गरी तारा गाउँ विकास समितिले प्रति रोपनी १० लाखका दरले १ सय ५४ रोपनी जग्गा हक हस्तान्तरण गरी दिने र सो रकमबाट होटलको हदप्रद सेयर खरिद गर्ने गरिएको सम्झौता गैरकानुनी भएको निष्कर्ष निकाल्दै सो लिज प्रक्रिया सम्पूर्ण रुपमा रद्ध गरी होटल र समितिका पदाधिकारीमाथि छानवीन गर्न पनि सरकारलाई सचेत गराएको छ ।
उपसमितिका संयोजक सापकोटाले समिति र होटलबीच सबै जग्गा हडप्ने योजनाका लागि सो जग्गाको लिज सम्झौता गरिएकाले दुवै पक्षका पदाधिकारीमाथि छानवीन गर्न पनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई सचेत गराउनुपर्ने उपसमितिको निष्कर्ष रहेको पनि बताए ।
उपसमितिले दिएको १३ बूँदे निर्देशनमा तारा गाउँ रिजेन्सी होटलले होटल घाटामा गएको देखाई गैरकानुनी लाभ लिएको उल्लेख गर्दै सो विषयमा पनि छानवीन गर्नुपर्ने भनिएको छ । उपसमितिका संयोजक सापकोटाले तारा गाउँ रिजेन्सी होटल निर्माण यताको सम्पूर्ण हिसावकिताव लेखा परीक्षण गरे÷नगरेको पनि छानवीन गर्न सरकारलाई निर्देशन दिनुपर्ने बताए ।
संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले समितिका सदस्य सापकोटाको संयोजकत्वमा समितिका सदस्यहरु नारदमुनि राना, पुष्पा भुसाल, प्रेम प्रसाद तुलाचन र सानु सिवा रहनु भएको ५ सदस्यीय उपसमिति गठन गरेको थियो ।
उपसमितिले स्थलगत अनुगमन गरी तयार परेको प्रतिवेदनमा सरकारी स्वामित्वमा रहेको तारा गाउँ विकास समितिको अवस्था नाजुक रहँदा पनि सरकारले पर्याप्त ध्यान दिन नसकेको पनि औंल्याइएको छ ।