भारतले आक्रमण गर्न सक्ने पाकिस्तानी दाबी, दिल्ली भन्छ, ‘युद्ध उन्माद’

दियो पोस्ट  

पाकिस्तानले आफूमाथि भारतले यो महिनाभित्र सैन्य आक्रमण गर्ने योजना बनाइरहेको ‘विश्वसनीय सूचना’ पाएको दाबी गरेको छ।

उक्त भनाइलाई भारतले भने पाकिस्तानको ‘युद्ध उन्माद’ भनेर प्रतिक्रिया दिएको छ।

पाकिस्तानका विदेशमन्त्री महमुद कुरेशीले आफूहरूसँग भारतीय योजनाबारे गुप्त सूचना भएको आइतवार बताएका थिए।

गत फेब्रुअरीमा भारत-प्रशासित कश्मीरको पुलवामामा ४० जनाभन्दा बढी अर्धसैनिकहरूको ज्यान जानेगरी एउटा आत्मघाती आक्रमण भएपछि दुई देशबीच तनाव बढेको थियो।

किन बढ्यो तनाव?

पुलवामामा आक्रमण गराउने जैश-ए‍-मोहम्मद समूहलाई पाकिस्तानले संरक्षण दिएको भारतको दाबी छ। तर पाकिस्तानले त्यसका यथेष्ट प्रमाण नभएको बताउने गरेको छ।

तर प्रतिक्रियास्वरूप भारतले पाकिस्तानी भूमिमा हवाई आक्रमण गर्‍यो। उसले त्यहाँ सशस्त्र विद्रोहीको तालिम केन्द्र रहेको दाबी गरेको थियो।

के छ पाकिस्तानको दाबी?

गत फेब्रुअरीको उक्त घटनापछि यी मुलुकहरूको तनाव कम भएको जस्तो देखिएको थियो।

तर केही दिनअघि फाइन्यान्शल टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत ‘युद्धको उन्माद’बाट ग्रसित भएको र भारतमा निर्वाचन हुन लागेकाले उसले पुन: केही गर्न सक्ने आशङ्का व्यक्त गरेका थिए।

अहिले उनका विदेशमन्त्रीले पाकिस्तानसँग भारतले गर्न लागेको आक्रमणबारे ‘गुप्तचरी सूचना’ भएको बताएका छन्।

के भन्छ भारत?

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले “यस क्षेत्रमा युद्ध उन्माद फैलाउने एउटा स्पष्ट उद्देश्य”साथ पाकिस्तानको उक्त भनाइ आएको बताएका छन्।

उनले भनेका छन्, “यो सार्वजनिक नौटङ्की पाकिस्तानमा रहेका आतङ्ककारीहरूलाई भारतमा आतङ्ककारी आक्रमण गर्न सन्देश दिनका निम्ति गरेको जस्तो देखिन्छ।”

उनले “कश्मीरमा गरिएको कार बम हमलाको दायित्वबाट पाकिस्तान उम्कन नपाउने”मा जोड दिएका छन्।

जैश-ए-मोहम्मद समूहका सशस्त्र लडाकुका निम्ति पाकिस्तान सुरक्षित स्थान रहेको भन्दै लामो समयदेखि भारतले आरोप लगाउँदै आएको छ।

पुलवामामा भएको आक्रमण आफूले गरेको दाबी उक्त समूहले गरेको थियो।

तर पाकिस्तानले सो घटनामा आफ्नो संलग्नता नभएको भन्दै भारतको आरोपको खण्डन गरेको थियो।

इमरान खानले आफू उक्त घटनाको अनुसन्धानका लागि सहयोग गर्न तत्पर रहेको भन्दै भारतलाई प्रमाणहरू दिन आग्रह गरेका थिए।

भारतमा हुन लागेको निर्वाचन र तनावबीच सम्बन्ध छ?

भारतमा यही महिना निर्वाचन हुन लागेको छ। यही समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पार्टीप्रति समर्थन बढाउन पाकिस्तानसँगको तनावलाई प्रयोग गरिरहेको आरोप विपक्षीहरूले लगाउने गरेका छन्।

तर मोदीको दल भारतीय जनता पार्टीले उक्त आरोपलाई खण्डन गर्ने गरेको छ। बीबीसीबाट