इरानी सेनालाई अमेरिकाले गर्‍यो आतङ्कवादी घोषणा

दियो पोस्ट  

काठमाडौं, चैत २६ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको रिभोलुशनरी गार्ड कोर्प्स (आईआरजीसी)लाई विदेशी आतङ्कवादी संगठन घोषित गरेका छन्।

अमेरिकाले अर्को देशको सेनालाई आतंकवादी संगठन भनी घोषणा गरेको यो पहिलोपटक हो।

ह्वाइट हाउसले आईआरजीसीलाई ‘इम्प्लिमेन्टिङ्ग इट्स ग्लोबल टेररिस्ट क्याम्पेन’ अर्थात् विश्वव्यापी आतङ्कवादी अभियानलाई लागु गर्नु उसको उद्देश्य रहेको बताएको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी फौजलाई आतङ्कवादी संगठन भनी त्यसको जवाफ दिएको छ।

ट्रम्पले जब इरानसँगको परमाणु सम्झौता तोडे त्यतिबेलादेखि नै वासिङ्टन र तेहरानबीचको तनाव बढेको देखिन्छ।

रिभोलुशनरी गार्डस्लाई आतङ्कवादी संगठन भनेपछि अब अमेरिकाले खासगरी त्यहाँको व्यापारिक क्षेत्रलाई असर गर्ने गरी इरानमाथि थप प्रतिबन्धहरू लगाउन सक्नेछ।

आईआरजीसीसँग सम्बद्ध थुप्रै संस्थाहरूलाई अमेरिकाले पहिला नै आतङ्कवादको संज्ञा दिँदै र मानवअधिकार उल्लंघनको आरोप लगाउँदै प्रतिबन्ध लगाइसकेको छ।

के भने राष्ट्रपति ट्रम्पले?

ट्रम्पले आफ्नो कदमले इरानमाथि अहिलेभन्दा बढी दबाब पर्ने बताएका छन्।

उनले भने, “यदि आईआरजीसीसँग सम्बन्ध राख्ने हो भने इरानले आतङ्कवादको समर्थन गरिरहेको छ।”

अमेरिकी विदेशमन्त्रालयका अनुसार इरानमाथिका प्रतिबन्धहरू अबको एक साताभित्र लागु हुनेछन्।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जबसम्म इरानले एउटा सामान्य देश जस्तो व्यवहार गर्न सुरु गर्दैन तबसम्म उसमाथि प्रतिबन्ध र दबाबको रणनीति जारी रहने बताए।

इरानको प्रतिक्रिया

अमेरिकाको पछिल्लो घोषणाको जवाफमा इरानको राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाको सेन्ट्रल कमाण्डलाई आतङ्कवादी संगठन भनेको छ।

इरानको सरकारी सञ्चारमाध्यम आइआरआइएनएनका अनुसार विदेशमन्त्री जावेद जरिफले राष्ट्रपति हसन रुहानीलाई त्यस्तो प्रतिक्रिया जनाउनका लागि आग्रह गरेका हुन्।

सेन्ट्रल कमाण्डले खासगरी अफगानिस्तान, इराक, इरान, पाकिस्तान र सिरियामाथिको वासिङ्टनको सुरक्षा चासोलाई हेर्छ। बीबीसीबाट