माओवादी आक्रमणमा विधायक सहित पाँचको मृत्यु

दियो पोस्ट  

काठमाडौं, चैत २७ । भारतको छत्तीसगढ राज्यको एउटा चुनावी र्‍यालीमा भएको हमलामा कम्तिमा पाँचजना मारिएका छन्।

छत्तीसगढका डीआईजी पी सुंदरराजले पत्रकारहरूलाई बताएअनुसार आक्रमणमा सत्तारूढ भारतीय जनता पार्टीका दन्तेवाडाका विधायक भीमा मंडावी, उनका चालक र तीनजना सुरक्षाकर्मी मारिएका छन्।

एक स्थानीय अधिकारीका अनुसार त्यहाँको साप्ताहिक बजारमा विधायक मंडावी चुनाव प्रचारका लागि पुगेका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीट गर्दै घटनाको भर्सना गरेका छन्।
त्यहाँको दन्तेवाडा-सुकमा सडकमा भएको हमलामा र्‍यालीमा रहेको बुलेटप्रुफ गाडीमा ठूलो क्षति पुगेको देखिएको त्यहाँस्थित बीबीसी सम्वाददाताले जनाएका छन्। उक्त गाडी उछिट्टिएर दुई सय मिटर पर पुगेको थियो।

छत्तीसगढमा भारतीय निर्वाचनको पहिलो चरण अन्तर्गत एप्रिल ११ मा चुनाव हुँदैछ।

खनिज पदार्थको धनी राज्य छत्तीसगढले तीन दशकयता माओवादी सशस्त्र द्वन्द्व झेलिरहेको छ। त्यहाँ बारम्बार सुरक्षाकर्मीमाथि हमला हुनेगरेको छ। बीबीसीबाट