भक्तपुरमा फेरी बर्डफ्लु भेटियो, १४ सय कुखुरा नष्ट

दियो पोस्ट  

काठमाडौं, चैत २७ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि बर्डफ्लु भेटिएको छ ।

एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको फार्म सञ्चालक मधुराम न्यौपाने जानकारी दिए ।

दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि गए राति कुखुरा मारिएको हो ।

गए राति एक हजार ३७५ ब्रोइलर कुखुरा नष्ट गरिएको न्यौपानेको भनाई छ। फार्ममा रहेका कुखुरामा एचवानएनवान बर्डफ्लुको भाइरस भेटिएपछि पशु सेवा विभागका प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि, प्रशासनको रोहबरमा कुखुरा नष्ट गरिएको फार्म सञ्चालक न्यौपानेले बताए ।

बर्डफ्लु सङ्क्रमित क्षेत्रको चार किल्लाभित्र कुखुरा नष्ट गरी खाडलमा पुरिएको छ ।

यसअघि गत बुधबार सोही वडाको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्मका कुखुरामा बर्डफ्लु पुष्टि भएपछि दुई हजार ९८५ लेयर्स कुखुरा नष्ट गरिएको थियो।