त्रिभुवन विमानस्थलमा उडान भद्रगोल, महाप्रबन्धक क्षत्री अनुसन्धानमा तानिए

दियो पोस्ट  

काठमाडौं, चैत २८ । धावनमार्ग मर्मतका लागि हरेक दिन १० घण्टा बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान व्यवस्थापनमा एकपछि अर्को गर्दै चरम लापरबाहीहरू देखिन थालेका छन् ।
राति १० बजेपछि उडान भर्न नमिल्ने सूचना ‘नोटिस टु एयर मिन’ (नोटाम) जारी भइसकेपछि विमानस्थल व्यवस्थापनले मंगलबार राति फ्लाई दुबईको बोइङ ७३७ विमानलाई उड्ने अनुमति दिएकामा महाप्रबन्धक राजकुमार क्षत्री अनुसन्धानमा तानिएका छन् ।

बिहीबारको कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार, उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले बुधबार छुट्टाछुट्टै स्पष्टीकरण सोधेका छन् ।

मंगलबार राति ८ः४० मा उडिसक्नुपर्ने फ्लाई दुबईको विमानले १०ः१७ मा धावनमार्ग छोडेको थियो । १०ः०१ मा ढोका बन्द गरेको विमानलाई एयर ट्राफिक कन्ट्रोलरले १०ः०३ मा स्टार्टअपको अनुमति दिएका थिए । १०ः०६ मा पुसब्याक गरिएको जहाजले धावनमार्ग छाड्दा १७ मिनेट ढिला भइसकेको थियो । एक साताअघि यस्तै अवस्थामा नेपाल वायुसेवाको विमानलाई भने उड्न दिइएको थिएन ।

अघिल्लो मंगलबार राति ९ः१५ को उडान तालिका भएको निगमको वाइडबडी विमानलाई विमानस्थलले नोटाम जारी भएको भन्दै १० बजेपछि दुबई उड्न रोकेको थियो । २ सय ७४ यात्रु रहेको विमान रोकिँदा डेढ सयभन्दा बढी यात्रु रातभर जहाजभित्रै बसेका थिए । विमान ११ घण्टापछि भोलिपल्ट मात्रै उडेको थियो ।

महाप्रबन्धक क्षत्री एयरपोर्ट काउन्सिल इन्टरनेसनलको एसियाली सम्मेलनमा भाग लिन हङकङमा गएकाले त्यतिबेला विमानस्थल व्यवस्थापन निमित्त महाप्रबन्धक सुरेशमान सिंहको नेतृत्वमा थियो । विमानभित्र रातभर यात्रु राखेको लगायत विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन भइरहेको छ ।

निगमको विमान र फ्लाई दुबईको विमान उडानमा फरक–फरक मापदण्ड अपनाइएको विषयबारे क्षत्रीलाई २४ घन्टे स्पष्टीकरण सोधिएको मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जनाए । उनलाई बुधबारै स्पष्टीकरण बुझाउन भनिए पनि बेलुकीसम्म मन्त्रालयमा नआएको एक उच्च अधिकारीले बताए । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले पनि महाप्रबन्धक क्षत्रीलाई अर्को २४ घन्टे स्पष्टीकरण सोधेका छन् । उड्डयनकर्मीका लागि जारी गरिने सूचना ९नोटाम० लागू भइसकेपछि उडान अनुमति दिन मिल्दैन ।

विमानस्थलका उच्च अधिकारीहरू तथा एटीसीले भने महाप्रबन्धक क्षत्रीको आदेशअनुसारै विमान उडाइएको बताए । नोटामभित्र जहाज उड्न नसके विशेष परिस्थिति भए नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको आदेशमा मात्रै छुट दिन सकिन्छ । ‘इमर्जेन्सी वा कुनै विशेष परिस्थितिमा उडान सुरक्षालाई असर नगर्ने गरी ठेकेदार कम्पनीको सहमतिमा मात्रै नोटामपछि थप समय विस्तार गर्न सकिन्छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने । तर मंगलबार विमानस्थलका महाप्रबन्धक क्षत्रीले महानिर्देशकसँग अनुमति नलिएको प्राधिकरणले जनाएको छ ।

महाप्रबन्धक क्षत्रीले यात्रुप्रति सहानुभूति राख्दै फ्लाई दुबईलाई उड्न अनुमति दिएको बताए । ‘अस्ति निगमको जहाज नउड्दा नेपाली कामदार यात्रु बिचल्ली भएजस्तो नहोस् भनेर समय थपेको हुँ,’ महाप्रबन्धक क्षत्रीले कान्तिपुरसँग भने, ‘यो विमान उड्ने तरखर गर्दैगर्दा ट्याक्सी वेमा मानिस देखिएछ । हामीले त्यहाँ विमानस्थलको सुरक्षा हेर्ने फलो मी भ्यान पठाउँदा फ्लाई दुबईको उडानमा ढिला भयो ।’

यस्तै बुधबार दिउँसो ३ः५० मा दिल्ली उड्ने क्रममा रहेको जेट एयरवेजको विमान ट्याक्सी वेमा पुगिसकेपछि इन्धन अपुग रहेको भन्दै फर्कियो । उक्त विमानले आकस्मिक रूपमा तेल भर्नुपरेपछि उडान करिब दुई घण्टा ढिलो भएको थियो । तर सोही विमानबाट दिल्ली पुगेका एक यात्रुले भने तेल भरिसकेपछि पनि एयरलाइन्सले तीन यात्रु थपेको कान्तिपुरलाई बताए । यस घटनाबारे जेटको काठमाडौंस्थित कन्ट्री म्यानेजर तानिया रघु राजनले आफूलाई कुनै जानकारी नभएको दाबी गरे ।

३ः५० मिनेटमा उड्नुपर्ने विमान किन फेरि फर्किएको हो भन्नेबारे विस्तृत अध्ययन गरी जानकारी गराउन विमानस्थल उडान सञ्चालन विभाग प्रमुख सुरेशमान सिंहले वरिष्ठ एयर ट्राफिक कन्ट्रोलर सीताराम भण्डारीलाई निर्देशन दिएका छन् ।

बुधबार नै निगमको एक वाइडबडी विमान पार्किङ वेमा ६ घण्टासम्म रहँदा बैंककबाट आएको थाई एयरवेजको विमानले पार्किङ वे नपाएर ४० मिनेट आकाशमै होल्ड हुनुपर्‍यो । विमानस्थल अधिकारीका अनुसार १ः१५ मा उड्नुपर्ने निगमको वाइडबडी ३५ मिनेट ढिला उडदा थाई एयरवेजको जहाज होल्ड भएको हो ।

‘बिहानै पार्किङ वेमा आएर बसेको निगमको खाली विमान भर्न ढिलाइ गर्नु लापरबाही हो,’ ती अधिकारीले भने । विमानस्थलमा ठूला वाइडबडी पार्किङका लागि तीनवटा मात्रै वे छन् । बुधबार तीमध्ये एउटामा टर्किस र अर्कोमा मलेसियन विमान थिए । ठूला पार्किङ वे खाली नहुँदा आइरहेका वाइडबडीलाई आकाशमै होल्डमा राख्नुपर्छ ।

४३ वर्षपछि पहिलोपटक १० घण्टा उडान बन्द गरेर सुरु सुधार कार्यसँगै विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू भद्रगोल हुन थालेका हुन् । दैनिक ७० हाराहारी उडान कटौती गरे पनि विमानस्थलको सही व्यवस्थापन हुन नसक्दा यस्तो स्थिति आएको हो ।