प्यारिसस्थित मध्ययुगीन नोट्रु-डाम कथिड्रलमा भीषण आगलागी हुँदा भवनमा आंशिक क्षति भएको छ ।
साढे आठ सय पुरानो गोथिक भवनको शिखर र छाना खसेको छ। यद्यपि दुईवटा बेल टावरसहित प्रमुख संरचना जोगिएको अधिकारीहरूले बताएका छन्।
टोलीहरूले कथिड्रलभित्र रहेका कलाकृतिलाई जोगाउने प्रयत्न गरिरहँदा अग्निनियन्त्रकहरू आगो नियन्त्रणमा लिन अझै प्रयासरत छन्।
राष्ट्रपति एमानुएल माक्रोँले आगलागीलाई एउटा “ठूलो विपद्”को सङ्ज्ञा दिएका छन्। आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन।
अधिकारीहरूले जीर्णोद्धार कार्यसँग आगलागीको सम्बन्ध हुन सक्ने बताएका छन्।
ढुङ्गाहरू चर्किन थालेपछि कथिड्रल भत्किन सक्ने आशङ्कमा त्यसको जीर्णोद्धार थालिएको थियो।
प्यारिसको अभियोजनकर्ताको कार्यालयले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।
घटनास्थलमा भावुक देखिएका राष्ट्रपति माक्रोँले कथिड्रलको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय रूपमा रकम सङ्कलन अभियान थाल्ने प्रतिबद्धता जनाए।
स्थानीय समय अनुसार सोमवार साँझ साढे ६ बजे शुरू भएको आगलागी छिट्टै कथिड्रलको छानासम्म फैलियो।
कथिड्रलको शिखरलाई खसाल्नुअघि आगोले रङ्गीन सिसाका झ्यालहरू र काठका सजावटलाई ध्वस्त बनायो।
एउटा बेल टावरलाई जोगाउने प्रयासमा करिब पाँच सयजना अग्निनियन्त्रक जुटेका थिए।
त्यसको चार घण्टाभन्दा बढी समयपछि प्रमुख अग्निनियन्त्रक जाँ क्लोड गालेले प्रमुख संरचनालाई पूर्णरूपमा क्षतिग्रस्त हुनबाट “जोगाउन र संरक्षण गर्न” सफल भएको बताए।
प्यारिसका उपमेयरले भवनमा “व्यापक क्षति” भएको बताउँदै बाँकी कलाकृतिहरू जोगाउन टोलीहरू प्रयासरत रहेको बताए।
फ्रान्सको बीएफएमटीभीसँग कुरा गर्दै इतिहासवसद् कामी पास्कलले आगलागीले अमूल्य सम्पदा नष्ट गरेको बताए।
आगलागीको दृश्य हेर्न हजारौँ मानिस कथिड्रल वरिपरिका सडकमा निस्केका थिए।
कतिपय मानिसहरू रोइरहेको देखिएका थिए भने कतिपयले भजन गाइरहेका थिए अथवा प्रार्थना गरिरहेका थिए।
प्यारिसका थुप्रै गिर्जाघरहरूले आगलागीप्रति प्रतिक्रिया जनाउँदै घण्ट बजाएका थिए।
फ्रान्समा महिनौँदेखि भइरहेका प्रदर्शनका पृष्ठभूमिमा राष्ट्रपति माक्रोँले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन आगलागीको घटनालाई लिएर स्थगित गरे।