अतिदुर्लभ प्रजातिको पोथी कछुवाको चीनमा मृत्यु, कृत्रिम गर्भाधारणको प्रयास असफल

दियो पोस्ट  

चीन, वैशाख ३ । चीनमा विश्वका अतिदुर्लभ मानिने नरम खपटा भएको एउटा याङ्त्सी कछुवा मरेको छ ।

पोथी कछुवा मरेपछि अब संसारमा त्यो प्रजातिका तीनवटा कछुवा मात्र बाँकी छन्। कछुवालाई दक्षिणी चीनस्थित सुजो चिडियाखानामा राखिएको थियो।

विज्ञहरूले ९० वर्षको सो कछुवा मर्नुभन्दा केही समयअघि मात्रै पाँचौँ पटक कृत्रिम रूपमा गर्भाधारण गराउने प्रयास गरेका थिए।

कछुवाको यो प्रजाति माछा तथा कछुवाको सिकार र वासस्थानको अतिक्रमणबाट प्रभावित हुँदै आएको छ।

उक्त प्रजातिको एक वर्षभन्दा बढी उमेर ठानिएको एउटा भाले कछुवा चिनियाँ चिडियाखानामा छ भने बाँकी दुइटा भियतनामको जङ्गलमा छन्।

ती दुइटा कछुवाको लिङ्ग छुट्याउन सकिएको छैन।

स्थानीय कर्मचारी र अन्तर्राष्ट्रिय विज्ञहरूले शनिवार अपराह्न उक्त पोथी कछुवाको मृत्यु हुनुभन्दा २४ घण्टाअघि कृत्रिम रूपमा गर्भाधारण गराउने प्रयास गरेका थिए।

उनीहरूका अनुसार शल्यक्रियाका कारण उक्त कछुवामा कुनै समस्या देखिएको थिएन र शल्यक्रियापछि उसको स्वास्थ्य अवस्था ठिक नै थियो।

तर शल्यक्रिया गरिएको भोलिपल्ट स्वास्थ्य अवस्था खस्कियो।

उक्त पोथी कछुवाको मृत्यु हुनुको कारणबारे अनुसन्धान भइरहेको छ र भविष्यमा अनुसन्धानका लागि त्यसको गर्भाशयको छाला सङ्कलन गरिएको छ। बीबीसीबाट