वादीले पेशा फेरे, समाजको हेराइ फेरिएन

वादीले पेशा फेरे, समाजको हेराइ फेरिएन

–लक्ष्मी भण्डारी


क्रान्तिलाई मैले सलाम गरिसकेंँ
क्रान्तिले मलाई सलाम फर्काउन बाँकी नै छ ।

दशकौंँअघि क्रान्तिकारी कवि गोपालप्रसाद रिमालले लेखेको कविता अहिले पनि नेपालको बदलिँंदो राजनीतिक सामाजिक परिप्रेक्ष्यमा उत्तिकै सान्दर्भिक देखिन्छ, खासगरी पिछडिएका र सीमान्तीकृत नेपाली समुदायका लागि ।

सामन्तवादको किल्लाका रूपमा रहेको राजतन्त्रले बिदा लिएको धेरै भइसक्यो । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा लिप्त छ ।

शासन व्यवस्थाको लगाम गणतन्त्रवादीको हातमा छ । शासन व्यवस्था फेरिँदैमा रातारात सबै कुरा नबदलिनु जति स्वाभाविक हो, उत्तिकै स्वाभाविक हो राज्यप्रति उर्लंदा आकाङ्क्षाको सम्बोधन गरोस् भन्ने जनअपेक्षा ।

सामन्तवादका अनेकौंँ रूप र अवशेषसँग लडेर तिनलाई पराजित गर्न बाँकी नै छ । त्यसैले जमीनी तहमा रहेका सीमान्तीकृत समुदायका लागि लोकतान्त्रिक गणतन्त्र आइसकेको देखिन्न । मुलुकमा तीनै तहका सरकार बनिसकेका छन् ।

संविधानले निर्वाचित जनप्रतिनिधिलाई आफ्नो समाज बदल्ने पूरापूर अधिकार दिएको पनि छ तर कर्णाली प्रदेशको सुर्खेत जिल्ला गुर्भाकोटका वादी समुदायलाई हेर्दा त्यस समुदायलाई लोकतान्त्रिक गणतन्त्रले स्पर्श गर्न बाँकी नै रहेको अनुभव गरिएको छ ।

गुर्भाकोटका वादी समुदायकी महिला पुतली बादी धेरैजसो दाउरा बेचेर गुजारा चलाउँछिन् भने कहिले भारत गएर कमाएर ल्याउछिन् ।

‘साँझ बिहान दुःख गरी काम गरेर थोरैतिनो आर्जन गर्छौंँ तर हामीलाई फरक पेशा गर्ने दृष्टिकोणले हेर्ने गरिन्छ’, पुतली गुनासो गर्नुहुन्छ । बादी समुदायमा पुख्र्यौलीे पेशा व्यापार व्यवसाय गरेर दैनिकी चलाउने गरिए तापनि अझैसम्म उनीहरुलाई हेर्ने सामाजिक दृष्टिकोण बदलिएको छैन ।

‘हाम्रो समुदायमा पहिले केही केही व्यक्तिले देहव्यापार गरे होलान् तर अहिले हामी सबै विभिन्न खालका व्यवसाय गरेर आम्दानी गर्ने गरेका छौँ’, उनी भन्छन्, ‘अन्य जातकाले यौनव्यापार गरे पनि उनीहरू ढुक्कसँग हिँड्न सक्छन् तर हामीमाथि समाजको नजर टेढै छ ।’

गुर्भाकोट नगरपालिकाकी कविता बादी कामका लागि दिल्ली जान थालेको चार वर्ष भयो । धेरैजसो समय उहाँ भारतको दिल्लीमा बिताउँछिन् भने केही दिन मात्र घरमा आएर बस्छिन् ।

कारण हो समुदायमा आफूहरुमाथि विभेद हुनु । छ वर्षअघि कथित उपल्लो जातका युवकसंँग विवाह भएका कारण आफ्नै श्रीमान्बाट उनले चरम यातना खेप्दै आउनुपरेको थियो । श्रीमान्बाट पाएको यातना सहन नसकेपछि अन्ततः उनको वैवाहिक सम्बन्ध टुट्यो । अहिले उनी छोराका साथमा दिल्लीमा बस्दै आएकी छन् ।

‘गाउँमा आएपछि बाहिर निस्केर ढुक्कसँग हिँड्न सक्दिन’, कविता भन्छिन्, ‘छिमेकी र समाजले हाम्रो जात भन्नेबित्तिकै फरक नजरले हेर्छन् ।’

उनले अन्य जातिका व्यक्तिले आफूहरुसँग घुलमिल हुन नचाहने गरेको दुखेसो पोखिन् । ‘समाजमा हामीप्रति अझै पनि राम्रो नजरले हेरिदैन त्यसैले हाम्रा धेरै साथीहरु गाउँमा बस्न रुचाउँदैनन्’ उनले भने, ‘धेरै साथीहरु दिल्लीतिरै बस्ने गर्छन् ।’

सोही बादी बस्तीकी ५६ वर्षीया बकुला बादी पनि कहिले दाउरा बेचेर त कहिले गिट्टी कुटेर जीविका चलाउँदै आएकी छन् तर समाजले आफूहरुमाथि गरेको विभेद देख्दा उहाँको मन कुँडिन्छ ।

‘दिनभरी काम गरेर साँझ बिहानको छाक जोहो गर्दै आएकी छु’, उनी भन्छिन्, ‘तर हाम्रा छोरी चेलीहरुमाथि कथित उपल्ला जातिले गर्ने व्यवहार फरक हुन्छ ।’ यही दृष्टिको कारणले आफ्ना छोरी नातिनीहरु भारत जान रुचाउने गरेको उनको अनुभव छ ।

बादी महिलामाथि भएको विभेदका कारण उनीहरु समस्यामा परेका यी प्रतिनिधि घटना मात्र हुन् । यस जिल्लामा बसोबास गर्दै आएका बादी समुदायका महिलाले भोगेको साझा समस्या हो ।

परम्परागत रूपमा बादी समुदायका पुरुष सुल्पा खाने, मादल बनाउने र माछा मार्ने तथा छोरीबहिनीहरूलाई यौन पेशातिर धकेल्ने गर्थे । अहिले भने परिस्थिति फेरिएको छ । अचेल बादी समुदायले कृषि र अन्य व्यवसाय गर्दै आएका छन् ।

सुर्खेत उपत्यकापूर्व झुप्रा खोला निवासी गीता बादी मानिसहरू अहिले पनि बादी जातिका महिला यौनधन्दा गर्छन् भन्ने धारणा राख्ने गरेको बताउँछिन् ।

‘आजभोलि यो पेशा अन्तै स¥या छ, कथित उपल्लै जातिका महिला देहव्यापारमा संलग्न भइरहेका छन्’, उनी भन्छिन्, ‘तर गिट्टी बालुवा बोकेर साँझ बिहान गुजारा गर्ने हामीलाई पुरानै चश्माले हेरिन्छ र यस्तो व्यापारमा हाम्रै नाम जोडिन्छ ।’

पहिलेको तुलनामा हाम्रो जातिमाथि गरिने विभेदमा केही कमी त आएको छ तर अझै पनि आफूहरुलाई हेर्ने दृष्टिकोण उस्तै रहेको पार्वती बादी बताउँछिन् ।

महिला अधिकारकर्मी किमशरा खत्री पनि बादी महिलाको पुख्र्यौली पेशामा अहिले केही मात्रामा परिवर्तन आए तापनि उनीहरुलाई हेर्ने पुरानै ढर्रा कायम हुनु दुःखद रहेको बताउँछिन् ।

‘हुन त पहिले पहिलेको तुलनामा अहिले अन्य जातिका मानिसहरु उनीहरुसँग विस्तारै घुलमिल गर्न थालेका छन्’, उनी भन्छिन्, ‘विस्तारै यसमा पनि परिवर्तन हुँदै जाला ।’

शिक्षक शरुणी ओली बादी महिलाले यस्ता खालका हिंसा भोग्नु भनेको पहुँच भएका वर्गबाट उनीहरु हेपिनु हो भन्छिन् । ‘यस्ता खालका व्यवहारले उनीहरुमाथि भएको विभेद झल्काउँछ’, उनी भन्छिन्, ‘जसले गर्दा उनीहरुको मनोविज्ञानमा चोट पु¥याउँछ ।’

बादी अगुवा एवं सिम्ता गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य सुक्री बादीले बादी जातिलाई अझै पनि हेप्ने प्रवृत्ति रहेको बताइन् । ‘जति राम्रो काम गरे पनि हाम्रो जातिलाई गलत नजरले हेर्छन्’, उनले भनिन्, ‘यसका अन्त्यका लागि हामी महिला एक जुट भएर अघि बढ्नुपर्छ ।’

नेपालको संविधानको मौलिक हकको धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने अधिकारको व्यवस्था छ । बादी महिलामाथि हुने यस्ता खालका विभेदले भने उनीहरुको आत्मसम्मानका साथ बाँच्ने अधिकारको हनन भएको प्रष्ट देखिन्छ ।

अधिवक्ता दुर्गाप्रसाद सापकोटाका विचारमा बादी महिलामाथि भएका यस्ता खालका विभेदले उनीहरु सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित हुनुपरेको छ । रासस

Trending News