काठमाडौं, वैशाख ६ । त्रिभुवन आर्मी क्लबका भलिबल खेलका कप्तान मानबहादुर श्रेष्ठले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न नपाउने भएका छन् ।
क्लबको स्वीकृतिबिना भलिबल प्रतियोगिता खेल्न जापान गएपछि आर्मीले कप्तान श्रेष्ठलाई आठौँ राष्ट्रिय खेलकुदमा सहभागी नगराउने भएको हो ।
आर्मीले आठौँ राष्ट्रियका लागि गराएको खेलाडी दर्तामा श्रेष्ठको नाम समावेश छैन । आर्मीका मुख्य प्रशिक्षक कपिलकिशोर श्रेष्ठले महत्वपूर्ण खेलअघि श्रेष्ठ देशबाहिर गएकाले कारबाहीस्वरुप उनलाई आठौँ राष्ट्रियमा समावेश नगरिएको बताए ।
क्लबमा अनुमतिका लागि पत्र आएको भए पनि ठूलो प्रतियोगिताअघि श्रेष्ठलाई विभागले जापान जान अनुमति दिएको थिएन । नेपाली राष्ट्रिय टोलीका स्पाइकर श्रेष्ठ पाँचौँ सिल्भर रनिङ कप भलिबल खेल्न गएको सोमबार जापान गएका थिए । उनी आज नेपाल फर्केका छन ।
गल्कोट स्पोट्र्स क्लब टोक्योको आयोजनामा भएको त्यस प्रतियोगिता बुधबार सम्पन्न भएको छ । एकदिने प्रतियोगितामा श्रेष्ठले ‘म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) जापानबाट खेलेका थिए । श्रेष्ठले आर्मी क्लबले बोलाए आफू आठौँ राष्ट्रिय प्रतियोगिताका लागि नेपालगञ्ज जान तयार भएको बताए । बाँकेको खजुरामा पुरुष भलिबल प्रतियोगिता भइरहेको छ ।