नेकपाले टुंग्यायो ७७ जिल्लाका अध्यक्ष र सचिव: एकता घोषणा आज

दियो पोस्ट  

काठमाडौं, वैशाख ९ । सत्तारूढ दल नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको छ।  पार्टी एकताको झण्डै एक वर्षपछि जिल्ला कमिटीको पदाधिकारी टुंगो लगाएको छ । आइतबार दिनभरको प्रयासपछि साँझ बसेको सचिवालय बैठकले ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको प्रस्ताव तयार पारी टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘लामो समयदेखि संगठनात्मक क्षेत्रमा एकता टुंगिएको थिएन, ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवबारे टुंगो लागेको छ’, उनले भने, ‘त्यसको सूची सोमबार सार्वजनिक हुनेछ।’ नेकपाले केन्द्रमा पार्टी एकता गरेको भने ११ महिना भएको छ।

एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन्। एमालेले अध्यक्ष पाएको जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेका नेता सचिव हुने सहमति भएको छ।
७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सोमबार प्रज्ञा भवनमा कार्यक्रम गरेर सार्वजनिक गर्ने नेकपाको तयारी छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेललगायतका नेताहरुको निरन्तर छलफलपछि जिल्ला तहको एकता टुंगो लागेको हो ।

यसअघि नै सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटीको घोषणा भइसकेको छ । जिल्ला तहको एकता टुंगो लागे पनि पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, जनवर्गीय संगठन र स्थानीय तहको एकता भने टुंगो लाग्न बाँकी छ । ।