शान्ति सैनिक मारिए

दियो पोस्ट  

बामाको,वैशाख ९ । अफ्रिकी मुलुक मालीको मोप्तीमा तैनाथ राष्ट्रसंघीय शान्ति सेना चढेको गाडीलाई लक्षित गरी शनिबार गरिएको बारुदी सुरुङ विस्फोटबाट एक शान्ति सैनिकको मृत्यु भएको छ। विस्फोटमा चार सैनिक घाइते भएका छन्।

राष्ट्रसंघको माली मिसनद्वारा जारी वक्तव्यमा मारिएका शान्ति सैनिक इजिप्टका रहेको उल्लेख छ। शान्ति सैनिक चढेका गाडी बोनीबाट डुएन्जातर्फ जाँदै थिए।

राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेर्रेसले शान्ति सैनिकको निधनप्रति गहिरो दुःख प्रकट गर्दै शान्ति सैनिकमाथिको आक्रमणलाई युद्ध अपराधका रूपमा लिइने र यसलाई अन्तर्राष्ट्रिय कानुन बमोजिम कारबाही गरिने बताएका छन्।

उत्तरी मालीमा सन् २०१२ मा अतिवादी लडाकु समूहले नियन्त्रण कायम गरेपछि सन् २०१३ मा शान्ति सैनिक तैनाथ गरिएको छ।

सन् २०१५ मा राष्ट्रसंघको अगुवाइमा सरकार र विभिन्न सशस्त्र समूहबीच शान्ति सम्झौता भए पनि मालीको मध्य र उत्तरी क्षेत्रमा स्थायित्व ल्याउन सकिएको छैन। माली शान्ति मिसनका क्रममा हालसम्म १९० जना शान्ति सैनिकको मृत्यु भइसकेको छ। रासस/एएनआई