काठमाडौँ,वैशाख १२ । काठमाडौंको खुलामञ्च अतिक्रमणको विरोधमा आन्दोलन सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाको मिलेमतोमा खुलामञ्च अतिक्रमण गरिएपछि त्यसको विरोधमा स्थानीयबासी र सम्पदाप्रेमीहरुले आन्दोलन सुरु गरेका हुन ।
बिहीबार बिहान खुलामञ्चमै उपस्थित भएर विरोध प्रर्दशनमा उत्रिएका उनीहरुले त्यहाँ बनाएका सटरहरु पनि बन्द गराएका थिए । खुला मञ्च खुला गर्न काठमाडौं महानगरपालिकासँग माग गर्दै उनीहरुले आफूहरुको माग तत्काल सम्बोधन नभए महानगरपालिकाविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन । खुलामञ्च अतिक्रमण हुँदा पनि काठमाडौं महानगरपालिकाले वास्ता नगरेपछि त्यसको विरोधमा स्थानीय आफैं आन्दोलनमा आउनु परेको असनका योगेशकुमार खड्गीले बताए ।
उनले जनताबाट निर्वाचित निकाय काठमाडौं महानगरपालिकाले समेत कमिशनमा खुला मञ्च अतिक्रमणमा सघाउ पु¥याएपछि स्थानीय जनता त्यसको विरोधमा स्वःस्तफूर्त सहभागी भएको पनि स्पष्ट पारे ।
काँग्रेस नेता एवम् काठमाडौं क्षेत्र नम्बर ७ का सांसद भिमसेनदास प्रधानसहितको उपस्थितिमा भएको विरोध प्रर्दशनमा खुला क्षेत्र अतिक्रमण गरेर काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बसपार्क र सटर संचालन गर्न अनुमति दिएकोे भन्दै आक्रोश व्यक्त गरेका थिए । उनीहरुले खुला मञ्च अतिक्रमण गर्न दिएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको चर्को आलोचना गर्दै नाराबाजी गरेका थिए ।
काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोईले खुला मञ्च अतिक्रमण गरी सटर बनाई व्यापारीहरुलाई भाडामा दिएपछि स्थानीय र सम्पदाप्रेमीहरुले ‘खुला मंच खुला राखौं’ अभियान सुरु गरेका हुन ।
ठूलो क्षेत्रफलमा रहेको काठमाडौंको सबैभन्दा ठूलो खुला क्षेत्र खुलामञ्चमा हाल बसपार्क चलाइएको छ । पूरानो बसपार्कमा व्यापारिक टावर बनाउन दिएर काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई ठेकेदारको जिम्मामा छाडेपछि स्थानीय आक्रोशित हुँदै आएका छन । ४० वटा नयाँ सटर निर्माण गरी नियम, मापदण्ड र सहमति विपरितका गतिविधि त्यहाँ भएपछि त्यसको विरोध गरिएको हो ।
स्थानीयले सो सटर डोजर लगाएर नहटाएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन ।
स्थानीयले खुलामञ्च अतिक्रमण तत्काल रोक्न र त्यहाँ निर्माण गरिएका अस्थायी सटर तत्काल हटाउन माग गर्दै काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई ज्ञापन पत्र बुझाउने तयारी पनि गरेका छन ।