यू–१९ महिला च्याम्पियनसिप दोस्रो चरणको छनोट : नेपालले आज अष्ट्रेलियाको सामना गर्दै

दियो पोस्ट  

एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज (शुक्रबार) बलियो टिम अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ ।

दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यानमार पुगेको नेपालले पहिलो खेलमा अष्ट्रेलियासंग खेल्न लागेको हो । म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार ३:१५ मा सुरु हुनेछ ।

समूह ‘ए’ कै सर्वाधिक बलियो टोली अष्ट्रेलियाविरुद्ध नेपाल कम्तिमा बराबरी खेल्ने लक्ष्यसहित मैदान उत्रने छ । अष्ट्रेलियालाई रोक्दै नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।

फिफा वरियतामा १२० औं स्थान माथिको अष्ट्रेलियालाई रोक्न नेपाललाई कठिन चुनौती भने हुनेछ । फिफा वरियतामा अष्ट्रेलिया ४१ औं स्थानमा रहेको छ । नेपाल भने १६० औं स्थानमा रहेको छ । त्यसैले अष्ट्रेलियाविरुद्ध नेपाल कम गोल खाने प्रयासमा समेत हुनेछ ।

प्रतियोगिताअघि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरी ओम श्रेष्ठले समूहमा बलियो टोलीहरु रहेपनि कडा टक्कर दिने बताएका थिए ।