मुलुकी संहिताले बालयौन दुराचारको विषयलाई छुट्टै अपराधको रूपमा राखेयता बालयौन दुराचारमा संलग्न १२९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसमध्ये विदेशी नौजना र स्वदेशी १२० जना छन्। गत वर्षसम्म यस्तो अपराधलाई बलात्कार र बलात्कारको उद्योगका रूपमा लिइने गरिन्थ्यो।
जसका कारण विगतमा यस्ता घटनामा संलग्न कति मानिस कारबाहीको दायरामा आए भन्ने यकिन तथ्याङ्क प्रहरीसँग छैन।
एक वर्षको अवधिमा देशभरि बालबालिलाई यौन दुराचार गररिएका १५७ वटा मुद्दा दर्ता भएका छन्।
प्रलोभन
सबैभन्दा बढी काठमाण्डू उपत्यकामा २६ वटा र सबैभन्दा कम कर्णाली प्रदेशमा चारवटा मुद्दा दर्ता भएका छन्।
लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका कार्यक्रम निर्देशक मधु दवाडी काठमाण्डू उपत्यकामा धेरै बालबालिका यौन दुराचारमा पर्नुको मुख्य कारण परिवारले समय नदिनु भएको बताउँछन्।
बालयौन दुराचारका मुद्दा | |
---|---|
प्रदेश | सङ्ख्या |
प्रदेश नं १ | २५ |
प्रदेश नं २ | १७ |
प्रदेश नं ३ | ३ |
गण्डकी प्रदेश | १८ |
प्रदेश नं ५ | २५ |
कर्णाली प्रदेश | ४ |
सुदूरपश्चिम प्रदेश | ५ |
काठमाण्डू उपत्यकामा मुद्दा चलाइएका प्रतिवादीमा विदेशी नागरिक पनि छन्।
दवाडी भन्छन्, “अन्य शसरको तुलनामा काठमाण्डूमा धेरै श्रमिक छन्। आर्थिक कारणले बुवाआमा दुवैजना काममा जाने गर्छन्। जसले गर्दा उनीहरूले बालबालिकालाई समय दिन पाउँदैनन् अनि अरूले अलिकति पनि माया देखाउँदा बालबालिका तिनीहरूसँग नजिक हुन्छन्।”
तेह्र वर्षदेखि १६ वर्ष उमेर समूहका बालिबालिका अरूको कुरा छिट्टै पत्याउने स्वभावका हुने र परिवारले समय नदिने र मनोरञ्जनका अन्य विकल्प नभएका बालबालिकाला छिट्टै अरूको सम्पर्कमा पुग्ने उनको भनाइ छ।
यो यौन दुराचारीहरूका लागि राम्रो अवसर हो।
उनीहरू पर्यटकका रूपमा नेपाल आउने र बालबालिकालाई आर्थिक र पढाउने प्रलोभनमा पार्ने गरेको बताइएको छ।
कतिपयले पहिले नेपाल आएर यस्तो क्रियाकलापमा संलग्न भएका साथीहरूमार्फत् सूचना लिएर आउने र नेपालका रहेका उनीहरूका एजेन्टले बालबालिका खोजी दिने गरेको बयानका क्रममा पाइएको प्रहरीको भनाइ छ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदी भन्छन्, “सडक बालबालिका र गरिब परिवारका बालबालिकालाई आफ्नो निसाना बनाउने र उनीहरूलाई प्रलोभन देखाएर यौन दुराचार गर्ने गरिएको पाइएको छ।”
आरोप लागेका विदेशहरू फ्रान्स, द नेदरल्यान्ड्स, ब्रिटेन, भारत आदि देशका नागरिक रहेको पाइएको छ।
‘धेरै परिचित संलग्न’
बालयौन दुराचारमा संलग्न नेपाली नागरिकहरूमा अधिकांश बालबालिकाले चिनेकै पुरुषहरू रहेको प्रहरीको भनाइ छ।
प्रवक्ता सुवेदीले भने, “बालयौन दुराचारका घटनालाई विश्लेषण गर्दा धेरैजसो घटनामा आफन्त, नातागोता, माथिल्लो कक्षाका साथी नै संलग्न रहेको देखिन्छ भने केही घटनामा अपरिचित व्यक्तिले पनि केही दिनमा नजिक भएर प्रलोभन देखाएर यस्ता कुकृत्य गरेको पाइएको छ।”
विभिन्न सङ्घ संस्थासँग मिलेर प्रहरीले चेतनामूलक सामग्री बनाएर वितरण गर्ने गरेको र पर्यटकीय क्षेत्र तथा उनीहरू बस्ने क्षेत्रमा निगरानी बढाइएको प्रहरीको भनाइ छ।
तर अभिभावकहरूले आफ्ना बालबालिका कोसँग हिँडिरहेका छन्, के गर्दैछन् भन्नेबारे निगरानी बढाउनु आवश्यक रहेको बालबालिकाको क्षेत्रमा काम गरेका अधिकारकर्मीहरू बताउँछन्। विविसीबाट