जापानका सम्राट अकिहितोले राजगद्दी परित्यागको घोषणा गरेका छन् । टोक्योस्थित इम्पेरियल प्यालेसमा आयोजित एक कार्यक्रमबीच उनले यसको घोषणा गरेका हुन् ।
सम्राटका रुपमा आफ्नो अन्तिम सार्वजनिक सम्बोधनमा अकिहितोले आफ्नो ३० वर्षे शासनमा जनताले देखाएको समर्थनप्रति धन्यवाद व्यक्त गरे ।
उमेर र स्वास्थ्यका कारण आफ्नो जिम्मेवारी निर्वाह गर्न नसक्ने बताएपछि ८५ वर्षीय सम्राटलाई राजगद्दी परित्यागको अनुमति दिइएको थियो । ८५ वर्षीय सम्राटले सन् २००३ मा प्रोस्टेट क्यानसरको अपरेशन गरेका थिए भने सन् २०१२ मा मुटुको बाइपास अपरेशन गरेका थिए ।
सन् २०१६ मा नै उनले उमेर र रोगको कारण आफ्नो जिम्मेवारी सम्हालन गाह्रो भइरहेको बताउँदै राजगद्दी परित्याग गर्ने संकेत दिएका थिए । योसँगै पछिल्ला २ सय वर्षमा राजगद्दी परित्याग गर्ने उनी पहिलो सम्राट पनि बनेका छन् ।
उनको स्थानमा बुधबार राजकुमार नारुहितोले राजगद्दीमा विराजमान हुनेछन् । योसँगै जापानमा ‘हेइसेइ’ युगको अन्त्य भई ‘रेइवा’ नाम दिइएको नयाँ युगको शुरुवात हुनेछ । अकिहितोले सन् १९८९ मा राजगद्दीमा विराजमान भएसँगै हेइसेइ युगको शुरुवात भएको थियो ।राजकुमार नारुहितो जापानको १२६ औँ सम्राट बन्नेछन् ।जापानको सम्राटसँग कुनै राजनीतिक शक्ति नभए पनि उनलाई राष्ट्रपिताको रुपमा लिइन्छ । एजेन्सी