काठमाडौं, १७ वैशाख । शनिबार राती नेपाली सेनाका कर्णेल सुशील कुमार थापाको घरमा झुन्डिएको अवस्थामा फेला परेका नेपाली सेनाका सिपाही प्रदीप तामाङको घटना मिलाउन राष्ट्रपति कार्यालयबाट समेत दबाव आएको खुलाशा भएको छ ।
नेपाली सेनाको विशिष्ट सेवा निर्देशनालयमा कार्यरत कर्णेल सुशील कुमार थापाले राष्ट्रपति कार्यालयमा समेत गुहार मागेपछि राष्ट्रपति कार्यालयले घटना मिलाउन एक सांसदलाई समेत फोन गरेको बताइएको छ ।
स्रोतका अनुसार मृतक तामाङ भक्तपुर गुण्डुका स्थायी बासिन्दा भएका कारण सोही क्षेत्रका प्रतिनिध सभा सदस्य महेश बस्नेतलाई प्रयोग गरेको खुलाशा भएको हो । बस्नेतकै योजनामा गुन्डु निवासी नेपाली सेनाका दुई तारे जर्नेल अनन्त कार्की जंगी अड्डा पुगेका थिए । कार्कीले पीडित परिवारलाई प्रहरीमा जाहेरी नदिन र मृतकका परिवारलाई रोजगारी मिलाइने तथा बालबच्चालाई सैनिक विद्यालयमा पढाइदिने आश्वासन दिएका थिए ।
तर, पीडित परिवारले घटना रहस्यमयी रहेको र हत्या नै भएको भनेपछि ‘जे गर्छौ गर’ भनेर छाडिदिएको उच्च स्रोतको भनाई छ ।
नेपाली सेनाकै दबावका कारण प्रहरीले जाहेरी लिन समेत अस्विकार गरेको पीडित परिवारको भनाई छ ।
‘आत्महत्या नै हो भनेर लेख्न लगाएपछि मात्रै जाहेरी लिने भनिएको थियो । प्रहरीले जाहेरी नलिएसम्म पोस्ट मार्टम नहुने रहेछ । पोस्ट मार्टमका लागि पनि हामीले आत्महत्या लेखिएको जाहेरी बुझाउन बाध्य भयौँ,’ पीडितका आफन्त भन्छन्,‘पीडितका बाबुको सोझोपनको फाइदा उठाउँदै हत्याकोे घटनालाई आत्महत्या बनाउने षड्यन्त्र भयो ।’
यद्धपी महानगरीय प्रहरी बृत सातदोबाटोका डिएसपी गौतम मिश्रले घटनाको अनुसन्धान भइरहेको बताइरहेका छन् ।
शनिबार राती घटना हुनुअघि मृतक प्रदीप तामाङले श्रीमती शान्ति तामाङलाई आफूलाई मारिदिएको भन्दै सन्देश पठाउन भ्याएका थिए ।
स्रोतका अनुसार जर्नेल कार्कीले मृतक परिवारलाई कुनै पनि मिडियासँग नबोल्न दबाव दिएका थिए ।
‘पाउन लागेको सुविधा खोसिन्छ भनेर मिडियामा बोल्न दिइएन । शव उठाउने बेला मिडियाकर्मी पुगेका थिए । तर, कसैसँग कोही बोल्न तयार भएन,’ स्रोतले भन्यो,‘सेनाको जर्नेलको धम्कीका कारण पीडित परिवार पुरै डराएको छ ।’