
A poor man smiles after a tungsten light bulb slowly turning on or brighten up in old rural house. A happy farmer smiling after a light bulb turn on and receiving electricity for the first time.
काठमाडौं , २० चैत्र । सधैँ अन्धकारमा रहँदै आएको जिल्लाको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच गाउँमा पहिलोपटक बिजुली बलेपछि यतिखेर त्यस क्षेत्रका जनता हर्षित बनेका छन् ।
उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिहीबार बिजुली पुगेको हो । उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतका अनुसार गाउँपालिकाको विकट पाँच गाउँ करिब १५० घरधुरीमा बिहीबार पहिलोपटक बिजुली पुगेको छ ।
प्रदेश सरकारको रु एक करोड २० लाख र बलान सामुदायिक वनको रु सात सात लाख गरेर कूल रु एक करोड २७ लाखको बजेटमा ती दुर्गम गाउँमा विद्युत् विस्तार गरिएको हो ।
पहिलोपटक बिजुली बलेपछि मैनीटारका ६७ वर्षीय गणेश अधिकारीले भने , “यस क्षेत्रमा बिजुली आउँछ भन्ने कुरा सपनामा पनि सोचेको थिइनँ तर आज सपना पूरा भयो, विपनामा नै बिजुली बल्यो विकास भनेको त यो पो हो ।”
सिरहा लहान शाखाको बलान कद्माहा खण्ड हुँदै उदयपुर गढी गाउँपालिकाको ती दुर्गम गाउँमा पहिलोपटक विद्युत् विस्तार भएको हो । रासस