माधव नेपालको कटाक्ष ; ओलीले ‘फालेर फालिन उनले ल्याएको मान्छे हौ र’

दियोपोस्ट संवाददाता

काठमाडौँ , २३ चैत्र । नेकपा एमालेका निलम्बित नेता माधव कुमार नेपालले आफ्ना समूह नै एमालेको आधिकारिक पार्टी रहेको दाबी गरेका छन् ।

आइतबार काठमाडौं जिल्लाको समानान्तर कमिटी गठन भेलालाई सम्बोधन गर्दै नेता नेपालले आफू ओलीले फाल्दैमा नफालिने बताएका हुन् । ‘केपी ओलीले , “ फालेर फालिन उनले ल्याएको मान्छे हौ र ”। उनले भने ‘हामीले आन्दोलनको निर्माण गर्दै यो पार्टीलाई विशिष्ट ठाउँमा पुर्‍याएका हौं ।’

उनले पार्टीको सबै कमिटीमा आफूहरुको बहुमत रहेको पनि दाबी गरेका छन् । २२ स्थायी कमिटी सदस्य मध्ये आफूहरुतर्फ १२ र अध्यक्ष ओलीतर्फ १० जना, पोलिट्ब्युरो कमिटीका ४४ मध्ये आफूहरुतर्फ २४ र ओलीतर्फ २०, केन्द्रीय कमिटीमा ओलीतर्फ ९२ र आफूहरुतर्फ ९७ जना रहेको नेता नेपालले बताएका छन् । उनले विगतको कोअर्डिनेसन केन्द्र र नेकपा मालेको अधिकांश नेता आफूहरुतर्फ रहेको बताएका छन् ।

नेपालले एमालेको नवौँ महाधिवेशनमा षड्यन्त्र गरि ओलीले अध्यक्ष पद हत्याएको आरोप लगाएका छन् । अध्यक्ष पद षड्यन्त्र गरेर जितेको कारण ओलीले फुर्ति लगाइरहेको बताए ।

यसअघि एमालेका उपाध्यक्ष रहेका वामदेव गौतम पनि आफूहरुसँगै रहेको नेता नेपालले बताएका छन् । गत निर्वाचनमा वामदेवलाई हराउन केपी ओलीले नै मुख्य भुमिका खेलेको आरोप लगाउँदै नेता नेपालले आफूलाई पनि हराउन खोजेको तर नसकेको तर्क गरे।

ओलीसँग अब मिल्ने कुनै अवस्था नरहेको भन्दै उनले कानुनले छुट्टै पार्टी खोल्न नदिए विकल्प खोज्ने समेत बताए। ‘कानुनले नदिए विकल्प खोजौला। विचार मिल्छ। मूल पार्टी यही हो’, नेता नेपालले भने, ‘केपी ओलीले पर्टी नै कब्जा गरे भने छुट्टै कुरा हो । नेता नेपालले आफूभन्दा तलका नेता तथा कार्यकर्ता पार्टी अध्यक्ष विरुद्ध चर्कोरुपमा उत्रिरहेको पनि बताए।