एमाले प्रवेश गरेका माओवादी सांसद कारवाहीमा, चार मन्त्रीको पद धरापमा

दियोपोस्ट संवाददाता

काठमाडौं, २५ चैत्र । नेकपा माओवादी केन्द्रले एमालेमा लागेका चार जना सांसदहरुलाई कारवाही गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालका ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका छन् ।

उनीहरू चार जनालाई सांसदबाट हटाउन पठाएको पत्र संसद सचिवालय पुगिसकेको बताइएको छ ।

प्रचण्डद्वारा हस्ताक्षरित पत्रमा सर्वोच्चको फैसलापछि छुट्टाछुट्टै दल भएको अवस्थामा पनि माओवादी केन्द्रबाट सांसद भएका चार जना पार्टीमा नफर्किएको, एमालेको केन्द्रीय सदस्य पद स्वीकार गरेको र स्पष्टीकरणको जवाफ नदिएको भन्दै कारवाही गरिएको उल्लेख छ ।

उनीहरुले दलको विधान र राजनीतिक दलसम्बन्धी ऐनले तोकेको दायित्व जानाजान उल्लङ्घन गरेको भन्दै माओवादी केन्द्रले गत चैत १ गते स्पष्टीकरण माग गर्दै सरकारबाट फिर्ता आउन निर्देशन दिएको थियो ।

तर उनीहरुमध्ये रायमाझी, भट्ट र चौधरीले स्पष्टिकरणको जवाफ नै नदिएको र साहले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै माओवादी केन्द्रले संसद सचिवालयमा दल त्यागसम्बन्धी कारबाहीका लागि सिफारिस गरेको थियो ।

राष्ट्रिय सभा सदस्य रहेका गृह मन्त्री रामबहादुर थापा बादल को सांसद पद खारेज गर्न भने अर्को दिन पत्र पठाइने बताइएको छ।