
काठमाडौं, २७ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने आवाज उठ्दै गर्दा प्रतिपक्षी दलका सभापतीले वैकल्पिक सरकार निर्माणमा छलफल गर्नका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लाई बोलाएको हो ।
बैठक आज शुक्रबार अपराह्न ३ बजे बस्ने गरि बोलाइएको छ ।
यसअघि काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा गर्न आग्रह गरेको थियो । त्यसको एकसाता पछि मात्रै काँग्रेसले सरकार समिकरणका लागि छलफल चलाउन लागेको हो ।
काँग्रेसभित्र सभापती देउवामाथि प्रधानमन्त्री ओलीको समर्थन गरेको आरोप लाग्दै आएको छ । नयाँ सरकार निर्माणमा आवश्यक तदारुकता नदेखाएको आरोप काँग्रेसकै नेताहरुले लगाउँदै आएका छन् ।
नयाँ सरकार निर्माणका लागि निर्णायक बनेको जसपाभित्र पनि प्रधानमन्त्रीको विरोध र समर्थन गर्ने दुबै पक्ष रहेका छन् । यसै कारण पनि सहमतीको सरकार निर्माणमा जटिलता पैदा भएको हो।