
काठमाडौं, २९ चैत्र ।नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा शनिबार भएको आगलागी नियन्त्रण बाहिर रहेको छ ।
काँक्रेको पौवाडाँडामा शनिबार बिहान १० बजेबाट शुरु भएको आगलागी घोरेटो भिर, सीताघारी हुँदै अहिले ल्याँसे जङ्गलतर्फ गइरहेको छ ।
आगलागी नियन्त्रण गर्न शनिबार राति १२ बजेसम्म नगरको दमकल, स्थानीयवासी, जनप्रतिनिधि, प्रहरी र भकुण्डेस्थित २६ बाहिनीका नेपाली सेना प्रयासरत रहेको वडाध्यक्ष धर्म लामाले बताए ।
“आगलागी नियन्त्रण बाहिर गइसेकको छ, अब पुनः सबै मिलेर नियन्त्रणमा लाग्ने तयारीमा गर्दैछौँ”, उनले भने । उनका अनुसार अहिले ल्याँसे जङ्गलमा ठूलाठूला आगो र धुँवाको मुस्लो देखिएको छ ।
आगलागी भएको जङ्गल छेउछाउ मानव बस्ती नभए पनि बारी र दुई÷चार सङ्ख्यामा गोठ रहेको लामाले बताए । उनले भने , “स्थानीयवासी निकै त्रसित अवस्थामा रहेका छन् ।”
उनले आगलागी फैलिएर मानव बस्तीतिर आउसक्ने देखिए जिल्लास्थित विपद्–उद्धार समितिमार्फत थप उपकरणसहित सहयोगी जनशक्ति ल्याइने बताए । रासस