प्रहरी लगाएर काठमाडौं प्लाजा खाली गर्ने नेपाल ट्रष्टको धम्कीले २ बैंक र हुलास स्टिललाई तनाव !

दियो पोस्ट  

काठमाडौं, २९ चैत्र । पूर्वराजा विरेन्द्र शाहको सम्पत्ति जनहितमा प्रयोग गर्ने उद्देश्यले गठित नेपाल ट्रष्टको लापरबाहीले काठमाडौं प्लाजामा भाडामा रहेका ठूला तथा कर्पोरेट कार्यालयलाई तनाव बढेको छ ।


नेपाल ट्रष्टले आफ्नो स्वामित्वमा ल्याएको कमलादीस्थित काठमाडौं प्लाजामा ७४ वटाभन्दा बढी सटर तथा व्यापारिक आउटलेटहरु भाडामा छन् । ती मध्ये ठूला बैंक तथा वित्तिय संस्था मात्रै होइन काठमाडौं प्लाजामै रजिष्टर्ड कार्यालय दर्ता गरेका कम्पनिलाई समेत तनाव बढेको छ ।

ट्रष्टको कार्यालयले अन्तिम पटक अल्टिमेटम भन्दै चैत्र २५ गते गोरखापत्रमा सुचना निकाल्दै ३१ गतेभित्र घर खाली गर्न भनेको छ । तर, त्यहाँ रजिष्टर्ड कार्यालय खडा गरेर भौतिक संरचना समेत निर्माण गरेर अर्बौं लगानी गरेका ठूला तथा साना लगानीकर्ताहरु जोखिममा परेका छन् । काठमाडौं प्लाजाको भवनमा मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय नै अवस्थित छ ।


ज्योति विकास बैंकको मुख्य कार्यालय पनि यही भवनमा छ । त्यस्तै हुलास स्टिलको कर्पोरेट कार्यालय पनि यही भवनमा रहेको छ । बैंक अफ काठमाडौं क्यापिटलको मुख्यालय पनि यही भवनमा भाडामा छ ।

राजघराना रेष्टुरेन्ट भवनको माथिल्लो तलामा भाडामा बसेको छ ।


कोरोना महामारीपछि विस्तारै उठ्न थालेको व्यावसायमाथि नेपाल ट्रष्टले प्रहार गरेर मानसिक तनाव दिएको हुलास स्टिलका म्यानेजर सन्दिप खड्का बताउँछन् ।


‘एक दुईदिन भित्रै भवन खाली गर्ने कुरा संभव छैन । यो हामीलाई अनावश्यक प्रेसराइज मात्रै हो । कोरोना महामारीपछि लामो समय लकडाउन थियो । नेपाल मात्रै होइन विश्व नै बन्द जस्तो थियो । हामीहरु टेकअप लिन खोज्दै थियौँ । यस्तो अवस्थामा मानसिक तनाव दिने कार्य भयो,’ खड्का भन्छन्,‘नेपाल ट्रष्ट भनेको सरकार हो नी । सरकारी निकायले यस्तो हालतमा त सहयोग गर्नुपर्ने हो नी । राहत सोच्नुपर्ने ठाउँमा उल्टो दबाव दिएर खाली गराउन खोजिएको छ । यसले हामीलाई हर्यास बनाएको छ ।’


आफूहरले संरचना निर्माणमा निकै रकम खर्चिएको उनी बताउँछन् ।

‘हामीले संरचना निर्माणमा ठूलो लगानी गरेका छौँ । यो संरचना तोडेर लिएर हामी कहाँ जाने ? नेपाल ट्रष्टसँग भाडामा लिने कन्सेप्ट डेभलपर्ससँग समन्वयमै हामीले अफिस सेटअप गर्यौँ,’ उनले भने,‘अहिले आएर एकाएक खाली गर्न भनिएको छ । हामी मुद्दामा समेत गएका हौँ । अहिले मुद्दा विचाराधिन नै छ । अहिले नै खाली गर भन्ने कुरा कसरी संभव हुन्छ ?’


नेपाल ट्रष्ट र कन्सेप्ट डेभलपर्सबीचका भाडा सम्झौता गत असार २ गते सकिएको थियो । भाडा सम्झौता सकिएपछि व्यावसायीहरुले भने भाडा समेत बुझाउन नपाएको उनले बताए । ‘हामीले भाडा कसलाई बुझाउने ? गत असारसम्म हामीले दिएका हौँ । अहिले हामीले कसलाई भाडा बुझाउने ? नेपाल ट्रष्टलाई भेटेर हाम्रो भाडा बुझिदिन पर्यो भन्दा मान्नु भएन । उहाँहरुले हामीसँग भाडा लिने अथ्योरिटी छैन भन्छ । कन्सेप्टसँग सम्झौता अवधि नै सकिएको छ । कन्सेप्टले चिठी काटेको छ । तर, हामीले डबल भाडा तिर्न सक्दैनौँ । नेपाल ट्रष्टले जहाँ भन्छ हामीले त्यहीँ भाडा बुझाउने छौँ । तर, कहाँ लगेर दिने बाटोमा लगेर फाल्ने कुरा भएन । हामीलाई आधिकारिक बाटो देखाइदिनुपर्छ ।’

‘यहाँ हामीले एक अर्ब भन्दा बढी लगानी गरेका छौँ । तर, ट्रष्टले एक हप्ता भित्र खाली गर्नु भनेर सुचना निकालेको छ । केही दिनमा प्रहरी नै ल्याएर हामीलाई हटाउने तयारी छ,’ काठमाडौं प्लाजामा व्यापार गर्दै आएका एक व्यापारीको गुनासो छ,‘हामीले २०७७ असार २ गतेसम्मको भाडा तिरेका छौँ । तर, अहिले हामीले भाडा बुझाउँछौँ भन्दा भाडा लिने निकायसमेत छैन । ट्रष्टको कार्यालयले हाम्रो भाडा समेत लिएका छैनन् ।’


ट्रष्टले जबरजस्ती गरे आफूहरुले कानुनी बाटो अपनाउने खड्का बताउँछन् । यता नेपाल ट्रष्टका सदस्य सचिव सुरेश आचार्य भने आगामी वैशाख २ गते नै प्रहरी परिचालन गरेर काठमाडौं प्लाजा खाली गर्ने धम्की दिँदै छन् । सोमबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अब ३ दिन भित्र भवन खाली नभए प्रहरी लगाएर भवन खाली गर्ने उनले बताए ।


‘हामी नाङ्गलो पसल थापेर बसेको व्यापारी पनि होइन । हामीले नाङ्लोमा हालेर बोकर हिँड्न सक्ने स्थिति छैन,’ खड्का भन्छन्,‘हामी कानुनी बाटोबाटै जान्छौँ । प्रहरी भनेको हामीहरुकै करबाट तलब भत्ता खाने निकाय हो । उहाँहरु अर्कै ग्रहबाट आउनुभएको होइन । उहाँहरुले पनि बुझ्नुपर्छ । यहाँ बैंकहरु छन् । पब्लिक लिमिटेड कम्पनि छन् । पब्लिक कम्पनिलाई प्रहरी लगाएर हटाउला जस्तो मलाई लाग्दैन । अब हेरौँ । बलपुर्वक गर्छ भने हामी पनि त्यो अनुसार सोचौँला ।’


यता काठमाडौं प्लाजामै मुख्यालय रहेको मुक्तिनाथ विकास बैंकका सिइओ प्रद्युमान पोखरेल भने आफूहरु निरन्तर ट्रष्टसँग संवादमा रहेको बताउँछन् ।

‘हामी निरन्तर ट्रष्टसँग संवादमा छौँ । बैंक भनेको पब्लिक लिमिटेड कम्पनि हो,’ उनले भने,‘उहाँहरुबाट हामीले सकारात्मक उत्तर पाएका छौँ । हाम्रो लाजिम्पाटमा मुख्य कार्यालय पनि बन्दैछ । हामी छिटै आफ्नै भवनमा सर्ने नै छौँ ।’


नेपाल ट्रष्टले ज्योति विकास बैंक र मुक्तिनाथ विकास बैंकलाई भने भवनमा भाडामा बस्न दिने तयारी गरेको छ । यद्धपी यसो गर्दा अन्य आउटलेटमाथि विभेद हुने र यसले झनै अर्को रुप लिने ट्रष्ट भित्रकै अर्का थरीको मत छ ।

गत असार दोस्रो साता मासिक साढे ६० लाख रुपैयाँ भाडा लिने गरि नेपाल ट्रष्टको उक्त भवन काठमाडौं महानगरपालिकालाई भाडामा दिने मन्त्रिपरिषदले निर्णय गरेको थियो । कार्यालय प्रयोजनका लागि भन्दै प्लाजाको पुरै भवन भाडामा दिने निर्णय गरेपछि महानगरभित्र समेत विवाद छ ।


काठमाडौं प्लाजाको कुल क्षेत्रफलको ७३ प्रतिशत क्षेत्र कर्पोरेट क्षेत्रले भाडामा लिएका छन् । तत्कालिन राजा विरेन्द्र शाहको परिवारको नाममा रहेको ५ रोपनी २ दाम क्षेत्रफलको जग्गा कन्सेप्ट डेभलपर्सलाई दिने गरी २०५० असार ३ गते सम्झौता भएको थियो । पूर्वराजपरिवारको निधन भएपछि बनेको सरकारले शाहको सम्पत्ति राष्ट्रहितमा प्रयोग गर्न भन्दै नेपाल ट्रष्ट गठन गरेको थियो । देश भर रहेका राजपरिवारको सम्पत्ति ट्रष्टको मातहत ल्याउने क्रममा काठमाडौं प्लाजा पनि ट्रष्टको मातहतमा ल्याइएको थियो ।

२०६६ पुस २३ गते ट्रष्टले कन्सेप्ट डेभलपर्ससँग पुनः लिज सम्झौता नवीकरण गर्दै २०६७ असार ३ गतेदेखि २०७२ असार ३ गतेसम्मको वार्षिक भाडा ६१ लाख र यसपछि सुम्झौता अवधि रहने समय २०७७ असार ३ गतेसम्मको वार्षिक भाडा ७५ लाख तोकिएको थियो । उक्त सम्झौता अवधि असार २ गतेबाट सकिएको थियो ।

सिफारिस