सिद्धलेक गाउँपालिका ६ का वडाध्यक्ष थपलियाको करामत : विज्ञापन नगरी छोरीलाई जागिर !

सिद्धलेक गाउँपालिका ६ का वडाध्यक्ष थपलियाको करामत : विज्ञापन नगरी छोरीलाई जागिर !

धादिङ, ३० चैत्र । धादिङको सिद्धलेक गाउँपालिका ६ का वडाध्यक्ष टिका थपलियाले आफ्नी छोरीलाई विज्ञापन बिनै विद्यालयमा जागिर लगाएको खुलेको छ ।


वडा नम्बर ६ स्थित सुन्दरी माध्यमिक विद्यालयमा वडाध्यक्ष थपलियाले आफ्नै छोरी सविना थपलियालाई शिक्षक नियुक्त गरेको स्थानियबासीले बताएका छन् । स्थानियका अनुसार विद्यालय व्यवस्थापन समितिले विज्ञापन समेत प्रकाशन नगरी वडाध्यक्षकी छोरी सविनालाई शिक्षक नियुक्त गरेपछि स्थानियबासी आक्रोशित बनेका छन् । विद्यालयका एक अभिभावकका अनुसार उनकी छोरी यसअघि कुरिनटारस्थित एक विद्यालयमा पढाउँदै आएकी थिइन् ।


सुन्दरी माबिका शिक्षकलाई परेवाटारस्थित एक विद्यालयमा सरुवा गरेर थपलियाले आफ्नी छोरीलाई भर्ति गरेका हुन् । ‘स्कुलमा चाहिने माविको दरबन्दी हो । यहाँ दरबन्दी खाली एउटा भन्दा छैन । प्राथामिक विद्यालयको दरबन्दीमा उहाँको छोरीलाई भर्ति गरिएको छ,’ एक स्थानिय अभिभावकले भने,‘विज्ञापन नै नखुलाईकन उसकी छोरीलाई भर्ति गरिएको हो ।’

विद्यालयका प्रधानाध्यापक कृष्ण खतिवडा भने आफूहरुले विज्ञापन खुलाएरै शिक्षक नियुक्ती गरिएको दाबी गर्छन् । उनका अनुसार गाउँपालिकाले लिएको परिक्षामा वडाध्यक्ष थपलियाकी छोरी मात्रै सहभागी भएकी थिइन् । परिक्षामा पास भएपछि उनलाई नियुक्त गरिएको खतिवडाको दाबी छ ।


वडाध्यक्ष टिका थपलियालाई ‘तपाईंले आफ्नै छोरीलाई शिक्षकमा भर्ति गर्नुभएछ नी ?’ भन्ने दियोपोस्टको प्रश्नमा उनको जवाफ थियो,‘त्यहाँ एउटा राहत कोटा थियो । हामीले विज्ञापन गरेका थियौँ । पालिकाले परिक्षा लियो । उहाँले आवेदन दिनुभयो । परिक्षामा सफल भएपछि उहाँ यहाँ पढाउनुहुन्छ अहिले ।’

नेकपा एमालेबाट वडाध्यक्षमा जितेका थपलियाले स्थानियमाथि ज्यादती गरेको आरोप छ । शारिरिक रुपमा अपाङ्ग भएका एक व्यक्तिले आफूलाई वडाध्यक्ष थपलियाले भूकम्पको राहतमा समेत कमिशन मागेको आरोप लगाए ।

Trending News