काठमाडौं प्लाजाका व्यापारीलाई लखेटेर ओम्नीलाई भित्र्याउने ईश्वर पोखरेलको गुपचुप खेल !

काठमाडौं प्लाजाका व्यापारीलाई लखेटेर ओम्नीलाई भित्र्याउने ईश्वर पोखरेलको गुपचुप खेल !

काठमाडौं, २९ चैत्र । पूर्वराजा विरेन्द्र शाहको सम्पत्ति राष्ट्रहितमा प्रयोग गर्न भन्दै स्थापना भएको नेपाल ट्रष्टले उद्देश्य विपरित शाहको सम्पत्तिमा मनोमानी गर्न थालेको छ ।


दरबारमार्गको जग्गा यति समुहलाई कौडीको भाउमा बुझाएको ट्रष्टले राजधानीको कमलादीमा रहेको काठमान्डु प्लाजामा भने ओम्नी समुहलाई भित्र्याउने छद्म योजना बनाएको खुलाशा भएको छ । कोरोना महामारीको समयमा मेडिकल सामग्री खरिद प्रकरणमा घोटाला भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले उपप्रधान तथा विना विभागीय मन्त्री ईश्वर पोखरेल सहितका उच्च अधिकारीमाथि कारबाहीका लागि सिफारिस गरेको थियो । उनै पोखरेल अध्यक्ष रहेको नेपाल ट्रष्टले प्लाजाको भवनमा ओम्नीलाई भित्र्याउने तयारी गरेको उच्च स्रोतको दाबी छ ।


नेपाल ट्रष्टको स्वामित्व रहेको काठमाडौं महानगरपालिका वडा नम्बर २८ कमलादीस्थित काठमाडौं प्लाजाको भवनमा ओम्नी समुहलाई सेटिङमा भित्र्याउन लागिएको स्रोतले जनाएको छ ।

ट्रष्टको कार्यालयले अन्तिम पटक अल्टिमेटम भन्दै चैत्र २५ गते गोरखापत्रमा सुचना निकालेर ३१ गतेभित्र घर खाली गर्न भनेको छ । ट्रष्टका सदस्य सचिव सुरेश आचार्यले २ गते प्रहरी परिचालन गरेरै काठमान्डु प्लाजा खालि गर्ने चेतावनी दिएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै आचार्यले मंगलबार माइकिङ गर्ने र व्यापारीले अटेरी गरे करार ऐन अनुसार पक्राउ गरि कारबाही गर्ने चेतावनी दिएका छन् ।


गत असार दोस्रो साता मासिक साढे ६० लाख रुपैयाँ भाडा लिने गरि नेपाल ट्रष्टको उक्त भवन काठमाडौं महानगरपालिकालाई भाडामा दिने मन्त्रिपरिषदले निर्णय गरेको थियो । कार्यालय प्रयोजनका लागि भन्दै प्लाजाको पुरै भवन भाडामा दिने निर्णय गरेपछि महानगरभित्र समेत विवाद छ ।

काठमाडौं प्लाजाको कुल क्षेत्रफलको ७३ प्रतिशत क्षेत्र कर्पोरेट क्षेत्रले भाडामा लिएका छन् । अर्बौंको भौतिक संरचना समेत निर्माण गरेर रजिष्टर्ड कार्यालय सञ्चालनमा रहेकाहरुलाई हटाएर मन्त्रिपरिषदले महानगरपालिकालाई भाडामा दिने निर्णय गरेको थियो ।


तत्कालिन राजा विरेन्द्र शाहको परिवारको नाममा रहेको ५ रोपनी २ दाम क्षेत्रफलको जग्गा कन्सेप्ट डेभलपर्सलाई दिने गरी २०५० असार ३ गते सम्झौता भएको थियो । पूर्वराजपरिवारको निधन भएपछि बनेको सरकारले शाहको सम्पत्ति राष्ट्रहितमा प्रयोग गर्न भन्दै नेपाल ट्रष्ट गठन गरेको थियो । देश भर रहेका राजपरिवारको सम्पत्ति ट्रष्टको मातहत ल्याउने क्रममा काठमाडौं प्लाजा पनि ट्रष्टको मातहतमा ल्याइएको थियो ।

२०६६ पुस २३ गते ट्रष्टले कन्सेप्ट डेभलपर्ससँग पुनः लिज सम्झौता नवीकरण गर्दै २०६७ असार ३ गतेदेखि २०७२ असार ३ गतेसम्मको वार्षिक भाडा ६१ लाख र यसपछि सुम्झौता अवधि रहने समय २०७७ असार ३ गतेसम्मको वार्षिक भाडा ७५ लाख तोकिएको थियो । उक्त सम्झौता अवधि असार २ गतेबाट सकिएको थियो ।

सम्झौता सकिएपछि ट्रष्टले उक्त भवन नयाँ टेन्डर मार्फत भाडामा दिनुको सट्टा महानगरपालिकालाई भित्र्याउन सिफारिस गरेको थियो । तर, महानगरपालिकाले टेकुमै अर्बौं खर्च गरेर भवन बनाउँदैछ । महानगरपालिकाका सुचना अधिकारी बसन्त आचार्यका अनुसार भवनको नक्सापास समेत भइसकेको छ ।


काठमाडौं महानगरपालिकालाई भाडामा दिने मन्त्रिपरिषदको निर्णयमा उपप्रधान तथा विनाविभागिय मन्त्री ईश्वर पोखरेलको शुरुदेखिकै दबाव र स्वार्थ रहेको बताइन्छ ।

नेपाल ट्रष्टको अध्यक्ष रहेका पोखरेलले देशैभर रहेको ट्रष्टको सम्पत्तिमा मनोमानी गर्दै आएका छन् । दरबारमार्गमा रहेको ट्रष्टका जग्गा यति समुहलाई भाडामा दिन पोखरेलकै सेटिङ रहेको थियो । उनले आर्थिक स्वार्थमा जग्गा यति समुहलाई बुझाएको खुलेको थियो । ट्रष्टको अध्यक्षमा गृहमन्त्री रहने कानुनी व्यवस्थालाई परिमार्जन गर्दै पोखरेल रक्षामन्त्री रहेको बेला उनलाई अनुुकुल रहने व्यवस्था गराइएको थियो ।


पोखरेलले आफ्नो छोरा समेत समलग्न रहेको भनिएको ओम्नी, म्याक्स लगायत कम्पनिलाई काठमाडौं प्लाजामा भित्र्याउन मन्त्रिपरिषदबाटै महानगरपालिकाको नाममा भाडामा दिने निर्णय गराएको ट्रष्ट निकट स्रोत बताउँछ ।


मन्त्रिपरिषदको गरेको निर्णयमा काठमाडौं प्लाजाको भवन महानगरपालिकाले व्यापारिक प्रयोजनका लागि भाडामा लगाउन नपाउने उल्लेख छ । सोही बुँदालाई टेकेर ओम्नीको कार्यालय नै त्यहाँ सार्ने तयारी गरेको उच्च स्रोतले जानकारी दिएको छ ।


भवन खाली गराउने सुचना प्रकाशित गर्नुअघि उक्त भवन हेर्न प्रधानमन्त्री कार्यालयका सुचना प्रविधि विज्ञ असगर अलि समेत पुगेको काठमाडौं प्लाजाका व्यापारीहरु बताउँछन् । अलि समेत समलग्न भएर ओम्नी मार्फत मेडिकल सामग्रीमा घोटाला भएको थियो । काठमाडौं प्लाजा अगाडी नै पोखरेलको छोरा समेत समलग्न रहेको म्याक्स नामक कम्पनिको कार्यालय रहेको छ । सो कम्पनिलाई समेत भविष्यमा काठमाडौं प्लाजामा सार्ने तयारी रहेको स्रोतले बतायो ।


स्रोतका अनुसार कन्सेप्ट डेभलपर्ससँग भाडा सम्झौता सकिएपछि म्याद थप्ने समयमा पोखरेलका निकट केही व्यक्तिले सम्झौता अवधि थप्न चलखेल गरेका थिए । उनीहरुले कन्सेप्टका प्रतिनिधिलाई ‘केही रकमको अफर’ समेत गरेका थिए । तर, कन्सेप्टका प्रतिनिधिले घुस खुवाएर सम्झौता अवधि नथप्ने अडान लिएपछि गत असारमै गोरखापत्रमा भवन खाली गर्न सुचना प्रकाशित भएको थियो ।

‘काठमाडौं प्लाजालाई २ वटा फ्लोर भए पुग्छ । काठमाडौं प्लाजा पुरै महानगरपालिकालाई चाहिनेपनि होइन । महानगरले भाडा तिरेपछि ओम्नी र म्याक्सले भाडा समेत तिर्न पर्दैन,’ ट्रष्ट निकट स्रोतले भन्यो,‘पोखरेलकै दबावमा यो भवन खाली गर्ने तयारी भइरहेको छ । त्यहाँ रहेका कम्पनिको अर्बौं लगानी डुब्नेवाला छ ।’

Trending News