नक्कली पिसिआर रिपोर्ट बनाउने धन्दामा पक्राउ परेका अभियुक्त कलेज र अस्पतालका मालिक !

दियोपोस्ट संवाददाता

काठमाडौं, ८ वैशाख । मंगलबार महानगरीय प्रहरी अपराध महासाखाले नक्कली पिसिआर रिपोर्ट बनाउने धन्दामा समलग्न ९ जनालाई पक्राउ गर्यो । प्रतिव्यक्ति ९ हजार रुपैयाँ लिएर नक्कली पिसिआर रिपोर्ट तयार गर्दै आएको लाजिम्पाट स्थित सुरिया हेल्थ केयर प्रालीका कर्मचारीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मध्ये केही व्यक्तिलाई छुटाउन चर्को दबाव रहेको पाइएको छ ।


खासगरि राजधानीको तिनकुने स्थित कान्तिपुर अस्पतालका निर्देशक तथा पेन्टागन कलेजका अध्यक्ष केपी सिंहलाई छुटाउन चर्को दबाव रहेको स्रोतले बताएको छ । सोमबार पक्राउपछि सार्वजनिक भएका केपी भनिने डा. खेलानन्द प्रसाद सिंहले आफू विरामी भएको भन्दै अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएपनि प्रहरीले पक्राउ परेको सबैलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको महानगरीय प्रहरी अपराध महासाखाका प्रवक्ता एसपी कृष्ण पंगेनीले बताए ।


उनका अनुसार लाजिम्पाटस्थित सुरिया हेल्थ केयर सेन्टरका मुख्य सञ्चालक सिपी श्री कुमार फरार रहेका छन् । उनको समेत खोजी भइरहेको महासाखाले बताएको छ ।


अपराध महासाखाले केहिदिन देखि निरन्तरको अनुसन्धानपछि छापा मार्ने क्रममा प्रयोगशालामै रहेका प्राविधिक सल्लाहकार खडानन्दप्रसाद (केपी) सिंह, म्यानेजर प्रमोद यादव, कर्मचारी बादल मिरिङ छिङ, अमनकुमार यादव, ओजेश पोख्रेल र मेरिट मल्टिकेयर मेडिकलका सरोज क्षेत्रीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये क्षेत्री विदेश जाने नागरिकका लागि मेडिकल जाँच गर्ने व्यक्ति हुन् । महानगरीय प्रहरी अपराध महासाखाका एसपी पंगेनीका अनुसार लाजिम्पाटमा रहेको सुरिया डाइग्नोस्टिक रहेको स्थानमा कोरोना परिक्षण गर्न स्थानियबासीले विरोध गरेपछि त्यहाँबाट सिनामंगल सारिएको थियो ।

सिनामंगलमा उनीहरुले ९ हजार रुपैयाँ लिएर विदेश जाने भारतीय र नेपाली नागरिकका लागि कोरोना रिपोर्ट नेगेटिभ रहेको रिपोर्ट तयार पार्ने गरेका थिए ।


प्रहरीले रिपोर्टमा हस्ताक्षर गर्ने नोवल अस्पतालका डाक्टर प्रचण्डमान सिंह राजभण्डारीलाई भने पक्राउ गरेको छैन ।

तिनकुनेस्थित कान्तिपुर अस्पतालका निर्देशक केपी सिंहको मिलेमतोमा त्यहाँ आउने विरामीको समेत कोरोना परिक्षण सुरियामै गराउने गरिएको छ ।


स्वाब संकलनका लागि अस्पतालमा सूर्या हेल्थ केयरको बुथ नै रहेको छ । पक्राउ परेका केपी सिंह कान्तिपुर अस्पतालका कार्यकारी निर्देशक मात्रै होइनन् सुरिया हेल्थ केन्यर प्रा.लीका सल्लाहाकार पनि हुन् । उनी पेन्टागन कलेजका अध्यक्ष समेत रहेको खुलेको छ ।