काठमाडौं, ८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सकिएको छ । बुधबार साँझ नागपोखरीस्थित शशिकान्त अग्रवालको होटल मेरियटमा उनीहरुबीच भेटवार्ता भएको हो । साँझ ६ बजेअघि नै होटल मेरियट पुगेका नेपाललाई ओलीले ७ मिनेट कुराएका थिए । भेटघाटको चाँजोपाँजो मिलाउन पुगेका अर्थमन्त्री पौडेल दुई नेताबीचको भेटघाट शुरु भएपछि बाहिरिएका थिए ।
होटल मेरियटको कोठा नम्बर ९०८ मा भेट भएका ओली र नेपालबीच केहीबेर बोलचाल समेत भएन । तर, केहीबेरपछि प्रधानमन्त्री ओलीले नेपालतिर हेर्दै ‘कस्तो छ तपाईंलाई’ भनेर संवाद शुरु गरेको स्रोतले बतायो ।
नेकपा एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षीय नेतालाई कारबाही र निलम्बनको श्रङ्खला चलाएका छन् । यता माधव नेपालले पनि ७० जिल्लामा समानान्तर पार्टी कमिटि गठन गरेर ओलीलाई चुनौती दिएका छन् ।
नेपालको समानान्तर गतिविधिलाई लिएर ओलीले तीनदिने स्पष्टिकरण सोधेका थिए ।
नेपालको समानान्तर गतिविधि र अध्यक्ष ओलीको स्पष्टीकरणपछि एमाले दुई टुक्रा हुने आशंका बढिरहेकाबेला भएको शीर्ष वार्ता भएको हो ।