धरहरा निर्माणमा ३ अर्ब ४७ करोड खर्च : काम सम्पन्न नहुँदै उद्घाटनको हतारो !

दियो पोस्ट  

काठमाडौं, १० वैशाख । राजधानीको सुन्धारामा पुन निर्माण गरिएको धरहरा छैटौं भूकम्प दिवसको अवसरमा शनिबार उदघाटन गरिँदैछ । २०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्किएको धरहरा निर्माण थालिएको झण्डै ५ वर्षपछि शनिबार उद्घाटनको हतार परेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट भोली उद्घाटन हुने धरहरा पुननिर्माणमा कति रकम खर्च भयो होला ?


राष्ट्रिय पुनर्निमाण प्राधिकरणका अनुसार धरहरा निर्माणका लागि ३ अर्ब ४७ करोड खर्च भएको छ । २०७७ असोज २० गते भित्र धरहरा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि सम्झौता अवधिभन्दा ९ महिनापछि सम्पन्न हुन हुन लागेको हो ।


यद्धपी प्रधानमन्त्री ओलीको हतारोका कारण उद्घाटन अगाडी नै भएपनि काम पूर्ण सम्पन्न भने नभएको स्रोतले बताएको छ । धरहरा पुनर्निर्माणको ठेक्का रमन कन्स्ट्रक्सनले पाएको थियो ।
२२ तले धरहराको कुल क्षेत्रफल ४२ रोपनी २ आना रहेको जनाइएको छ ।


भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा पटक पटकको भूकम्पमा ढलेको थियो । धरहरा पटकपटक ढलेकाले पुरानो संरचना यथावत् सिसाले छोपेर २२ तलाको बनाउने प्राधिकरणको तयारी थियो । यसअघिको धरहरा नौ तलाको थियो । तर, २०७२ वैशाख १२ को भूकम्पले धरहरा भत्काएको थियो ।

सिफारिस