बाटो खन्ने क्रममा पहिराले पुर्दा स्काभेटर चालकको मृत्यु

दियोपोस्ट संवाददाता

रुकुम,१३ बौशख । भूमे गाउँपालिका–८ सिमखोला (पूर्साबाङ) मा बाटो खन्ने क्रममा पहिराले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ ।

आइतबार साँझ सडक खनिरहेका बेला एक्कासि झरेको सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान गएको इलाका प्रहरी कार्यालय खाबाङका प्रहरी प्रमुख सविन शाहले जानकारी दिएका छन् ।

पहिराले पुरेको स्काभेटरको बकेट मात्र देखिएको छ ।
घटना भएलगत्तै प्रहरी घटनास्थलमा पुगे पनि तत्काल उद्धार गर्न सम्भव नभएको उनले बताएका छन् । अहिले सोही ठाउँमा अर्को डोजरको सहायताले माथिबाट झरेको पहिरो हटाउन शुरआत गरिएको बताइएको छ । उनका अनुसार पुर्साबाङ–रुकुकोट–कुचिवाङ–कोर्जा–तमारी–लावाङ सडकखण्डअन्तर्गतको पुर्साबाङमा सडक खन्ने क्रम जारी रहेको थियो । अहिले सो ठाउँमा अर्को डोजरको सहायताले माथिबाट झरेको पहिरो हटाउन शुरुआत गरिएको बताइएको छ ।

उक्त ठाउँमा कमजोर माटो भएको हुँदा मानिसले नै खन्ने र उपकरणको प्रयोग नगर्ने भनिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताएका छन् । उनले ठेकेदार कम्पनीले उपकरण प्रयोग गरेपछि घटना भएको जानकारी दिएका छन् ।रासस